गठबन्धनका कारण कांग्रेसमा जसले टिकट पाउँदैनन्

काठमाडौँ – २०७४ को चुनावमा समानुपातिक सांसद बनेका कांग्रेसका केही नेतालाई सत्ता गठबन्धनको चुनावी तालमेलका कारण संघीय निर्वाचन क्षेत्र खोसिने निश्चितजस्तै छ।

अघिल्लो निर्वाचनमा समानुपातिक कोटामार्फत प्रतिनिधिसभा सांसद बन्ने अवसर पाएका कांग्रेस नेताको सत्ता गठबन्धनमा भागबन्डा मिलाउँदा निर्वाचन क्षेत्र खोसिने भएको हो।

दुई पटकसम्म समानुपातिक सांसद बनेकी नेतृ डा. डिला संग्रौला यस पटक प्रत्यक्षमा चुनाव नजिते सांसद बन्न पाउँदिनन्।

स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा मेयरमा उठ्न खोजेकी संग्रौला अहिले संघीय चुनावमा प्रत्यक्षर्फ भिड्ने तयारीमा थिइन्। तर, पार्टीको १४ औँ महाधिवेशनपछि कांग्रेसमा संस्थापनइतर पक्षको नेतृत्व गर्दै आएका डा. शेखर कोइरालाको क्षेत्र र नेत्री संग्रौलाको क्षेत्र एकै भएकाले संग्रौला नेता कोइरालाको छायामा पर्नेछिन्।

मोरङ क्षेत्र नम्बर ६ बाट डा. कोइराला, नेत्री संग्रौला, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम सिफारिसमा परेको छ।
नेत्री संग्रौलाजस्तै सिफारिसमा परेका अरु पनि डा.कोइरालाको छायामा पर्ने पक्काजस्तै छ। यसअर्थमा पनि नेत्री संग्रौलाको निर्वाचन क्षेत्र खोसिने छ।

यस्तै दुई पटक नै समानुपातिक सांसद भइसकेका कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माको निर्वाचन क्षेत्र यसपटक कांग्रेसको भागमा पर्ने सम्भावना न्यून छ। विश्वकर्माको निर्वाचन क्षेत्र सुनसरी–१ सत्ता गठबन्धनको चुनावी तालमेलका कारण जनता समाजवादी पार्टी(जसपा)को भागमा पर्ने देखिएको छ।

सुनसरी–१ बाट जसपा नेता अशोक राई उठ्ने तयारीमा छन्। ०७४ को आम निर्वाचनमा पनि राई सुनसरी–१ बाटै उठेका थिए। यसपटक पनि जसपाले सत्ता गठबन्धनमा सुनसरी–१ पाउनुपर्ने अडान राखेकाले विश्वकर्माले राईलाई छोड्नुपर्ने अवस्था आउन सक्छ।

सर्लाही–२ मा कांग्रेस नेता नागेन्द्रकुमार राय प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन्। सर्लाही कांग्रेसका पूर्वसभापतिसमेत रहेका रायको चुनाव क्षेत्र गठबन्धनको तालमेलका कारण कांग्रेसको भागमा पर्ने सम्भावना न्यून छ। यो क्षेत्रमा नेपाल समाजवादी पार्टी (नेसपा)का नेता महेन्द्र राय यादवले उठ्ने तयारी गरेका छन्।

नेसपाले माओवादी केन्द्रको घोषणापत्र र चुनाव चिह्नमा चुनाव लड्ने निर्णय गरिसकेको छ। २०७४ को चुनावमा तत्कालीन राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले यही सर्लाही–२ बाटै चुनाव जितेका थिए।

यसपटक पनि आफूले नै चुनाव जित्ने उनको दाबी छ। उनले देश सञ्चारसँग भने, ‘उम्मेदवार बन्ने हल्ला धेरै जनाको हुनु स्वभाविक हो तर सर्लाही–२ बाट आधिकारिक उम्मेदवार म नै बन्नेछु, र चुनाव जित्नेछु।’

आफ्नो पार्टी नेसपाले यसअघि जितेका क्षेत्रहरु यसपटक स्वतः पाउने गरी सत्ता गठबन्धनसँग सम्झौता गरेको उनको दाबी छ। यादवले भने,‘मैले सर्लाही–२ र पार्टी अध्यक्ष बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवार बन्ने हाम्रो सहमति भएको छ।’ यसले गर्दा नागेन्द्र कुमार राय प्रत्यक्ष चुनाव लड्न पाउने छैनन्।

यस्तै, कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइलीको क्षेत्र पनि कांग्रेसको भागमा पर्ने सम्भावना छैन। बझाङ रसाइलीको क्षेत्र नेकपा एकीकृत समाजवादीले पाउने सम्भावना बढी छ। त्यसकारण रसाइलीले नेकपा एसका भानुभक्त जैसीलाई छाड्नुपर्ने अवस्था छ।

यस्तै कपिलवस्तु–१ का अतहर कमल मुसलमानको क्षेत्र यसपटक खोसिने सम्भावना छ। ०७० सालमा स्वतन्त्र उठेर जितेका मुसलमान अघिल्लो पटक कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए। यसपटक प्रत्यक्षमा लड्ने तयारी गरे पनि यो क्षेत्र माओवादीको भागमा पर्ने देखिन्छ। कपिलवस्तु–१ नेकपा माओवादी केन्द्रका चक्रपाणी खनालको क्षेत्र हो।

उदयपुर–१ की प्रमिला राईको क्षेत्रसमेत यसपटक माओवादीको भागमा पर्ने देखिन्छ।

यस्तै झापा–५ की महेन्द्रकुमारी लिम्बूको क्षेत्र पनि खोसिने सम्भावना उत्तिकै छ। पार्टीले प्रत्यक्षतर्फ उनको नाम सिफारिस गरे पनि यो क्षेत्र माओवादीको भागमा पर्ने सम्भावना छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माओवादी केन्द्रले रञ्जित तामाङलाई भिडाउने तयारी गरेको छ।

असोज ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्