खेलाडी उपचारका लागि अस्पताल भौतारिँदै, जिम्मेवार निकाय प्रदेश खेलकुद विकास बोर्ड गुमनाम

मोरङ – विराटनगरमा जारी नवौं राष्ट्रिय खेलकुद छनोटका लागि फुटबल खेल्न आएका खेलाडी अस्पतालमा उपचारका क्रममा भेटिएका छन्।

विराटनगरको सहिद मैदानमा बिहीबार दिउँसो भएको छनोट खेलअन्तर्गत फुटबल खेल्दा घाइते भएका खेलाडी बेवारिसेझँै विराटनगरको अस्पतालमा भौँतारिन पुगेका हुन्। चर्को घामसँगै दिउँसो २ बजे खेलिएको संखुवासभा र ओखलढुंगाबीच खेलमा घाइते भएका संखुवासभा जिल्लाका दुई खेलाडी राति विराटनगरका विभिन्न अस्पतालमा उपचारका लागि भौंतारिएका हुन्।

खेलका क्रममा चोट लागेपछि उनीहरूलाई अस्पताल लैजानुपरेको संखुवासभाको टोलीका टोली व्यवस्थापक राज श्रेष्ठले बताए।

ओखलढुंगालाई २ का विरुद्ध ३ गोलले पराजित गरे पनि दुई खेलाडी घाइते हँुदा खेल फिक्का बन्न पुगेको थियो। संखुवासभा कुन्ताङका २१ वर्षीय जीवन मगर पहिलो हाफमा बाइसाइकल किक प्रहार गर्ने क्रममा घाइते भएका थिए।

यद्यपि, प्राथमिक उपचारपछि उनी पहिलो हाफसम्म गर्मीमा खेलिरहे। संखुवासभाका प्रशिक्षक दीपक चौहान घाइते खेलाडी मगरको बडी ल्यांग्वेजबाट खुशी देखिएनन्। उनले मगरसँग कुरा गर्दै गर्दा, मगरले छिनछिनमा कुरा बिर्सदै सम्झँदै गरेको अनुभव सुनाए।

घाँटीको पछिल्लो भागमा चोट लागेको हुन सक्ने अनुमान गरेका प्रशिक्षक चौहान र टोली व्यवस्थापक श्रेष्ठले आयोजक प्रदेश १ खेलकुद विकास बोर्डका पदाधिकारी, जिम्मेवारलाई खोजे। तर उनीहरूले मैदानमा आयोजकतर्फबाट कोही नभेटेपछि घाइते भएका खेलाडीलाई विराट नर्सिङ अस्पताल उपचारका लागि लगे।

त्यस समयसम्म घाइते खेलाडी मगर घरी कुरा गर्दै बिर्सने र घरी सम्झने गर्दै गरेको अवस्थामा रहेको व्यवस्थापक श्रेष्ठले बताए।

उनले भने, ‘विराट नर्सिङ अस्पतालमा हामी उपचारका लागि सिटी स्क्यान गर्ने क्रममा थियाँै। तर, एकाएक साथीहरूले अर्का खेलाडी सुनिल गजमेर पनि टोलाउन थालेको भन्दै अत्तालिएर खबर गरे। विराटनगरमा खेल्न आएको हामी, धेरै कुरा थाहा छैन। आयोजक पक्ष पनि कोही नभेटिँदा समस्या भयो। अत्यधिक गर्मीको अवस्थामा खेल्दा हामीलाई समस्या भयो।’

‘संखुवासभाबाट आएदेखि खेल्न थालिएको छ। विश्राम भन्ने कुरा कतै छैन। त्यसमाथि गर्मीले डिहाइडे«सनको समस्या। कसरी व्यवस्थापन गर्नु टोली। समस्या भएको छ,’ प्रशिक्षक चौहानले भने।

विराटमा सिटी स्क्यान नगरी अर्का खेलाडीको अवस्था बुझ्न् प्रशिक्षक चौहान र श्रेष्ठ टोली भएको स्थानमा फर्किए।

टोलीको बसाई इटहरी भए पनि खेलाडीको अवस्थाले उनीहरू विराटनगरका अस्पतालमा बेलुकासम्म दौडिरहे। ‘एकाएक टोलाउन थालेका गजमेरलाई कोशी अस्पतालमा उपचारका लागि पु¥याउँदा अस्पताल भरिएको अवस्थामा थियो,’ प्रशिक्षक चौहानले भने।

कोशी अस्पतालमा उपचार गर्न संभव नभएपछि उनीहरूले गजमेरलाई नजिकैको गोल्डेन अस्पतालमा उपचारका लागि लगे। जहाँ गजमेरको सामान्य उपचार गरियो। यसक्रमसम्म दुवै खेलाडी घरि विर्सने घरि संझने अवस्थामा थिए। घाइते गजमेरले भने, ‘मलाई नै थाहा छैन म कसरी यहाँ(अस्पताल) आइपुगे। म त मैदानमा थिए। होस आउँदा जस्तो हुदाँ अस्पतालमा आएको छु। खेल, मैदानदेखि अस्पताल भर्नासम्म के के भयो मैले केही थाहा पाउन सकिनँ।’

छनोट खेलको तेस्रो म्याच भइरहदाँ आयोजक पक्षका जिम्मेवार व्यक्तिसँगै खेल संयोजक, म्याच एसेसर समेत उपस्थिति नभएको उनीहरूको गुनासो छ। जिम्मेवारी वहन गरेका ब्यक्ति नहुँदा र एकाएक चर्को घाममा खेलिनुले समस्या भएको उनीहरूको भनाई छ। चिसो स्थानबाट आएको र मध्यदिउँसो खेल नखेलाउन पटकपटक आग्रह गरे पनि सुनुवाइ नभएको टोली व्यवस्थापक श्रेष्ठ बताउँछन्।

श्रेष्ठले भने, ‘यसबारे हामीले भनिरहँदा केही सुनुवाइ भएन। आज साथीहरू घाइते भएकाछन्। भोलीको(शुक्रबार) सेमीफाइनल खेल २ बजे नै राखिए हामी नखेल्ने अवस्थामा पुग्नेछा्रै। यस्तो अवस्थामा कसरी खेल्न सकिन्छ ? खेलभर जिम्मेवार कोही छैनन्, कसलाई कहाँ के भन्नु। यस्तो खेलमा सहभागिता भइन्छ भन्ने सोचपनि थिएनौं। धेरै लापार्वाह र गैह्रजिम्मेवारीपन देखिएको छ।’

अर्कोतर्फ, बोर्डका सदस्य एवं प्रतियोगिता संयोजक प्रदीप भगतले खेलाडीलाई समस्या पर्दा साथमा रहेको दाबी गरे।

उनले भने, ‘खेलाडीसँग भएको घटनाबारे जानकार छाँै। एक जना पदाधिकारीलाई तत्कालै खेलाडी हेर्न गोल्डेन अस्पताल पठायौ।’ भगतले भने, ‘उपचारमा लाग्ने खर्च मै ब्यहोर्छु। खेलाडीको मर्म मैले बुझेको छु। म पनि खेलाडी हो। घाइतेका साथीहरूले बोलाउँदा तत्काल भौतिक रुपमा मात्र उपस्थित हुन नसकिएको हो।’

प्रदेश खेलकुद विकास बोर्डले फुटबल खेलाडीलाई प्रतिदिन १ हजार ६ सय रुपैया उपलब्ध गराएको छ। जसबाट खानेबस्ने ब्यवस्था खेलाडीले नै गर्नुपर्ने बोर्डले जनाएको छ। सोहीअनुसार छनोट खेल्न आएका अधिकांश टोलीले इटहरीलाई बासस्थान बनाएकाछन्। चोटिल खेलाडीसाथ भएको संखुवासभाको टोलीसमेत बेलुका घाइते खेलाडीलाई लिएर न्यास्रिदै इटहरी लागेका थिए।

घटनाबारे जानकारी लिन प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई सम्पर्क गर्दा फोन रिसिझ हुनसकेन्।

असोज ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्