फ्रान्सका लागि जिरुड बने सर्वाधिक पाको उमेरमा गोल गर्ने खेलाडी

ओलीभर जिरुड फ्रान्सको इतिहासमा सर्वाधिक पाको उमेरमा गोल गर्ने खेलाडी बनेका छन्। युइएफए नेसन्स लिग फुटबलअन्तर्गत तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा अस्ट्रियाविरुद्ध फ्रान्सका लागि जिरूड र केलिएन एम्बाप्पेले समान १-१ गोल गरे।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ५६ औँ मिनेटमा एम्बाप्पेको गोलमार्फत फ्रान्सले अग्रता बनाएको थियो। जिरुडले ६५ मिनेटमा सानदार हेड गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए।

एसि मिलानका ३५ वर्षीय स्ट्राइकर जिरुडले ३५ वर्ष ३ सय ५७ दिनमा फ्रान्सका लागि गोल गरे। उनले यसअघि १९५९ मा स्पेनविरुद्ध सर्वाधिक पाको उमेरमा गोल गरेका रोजर मार्सेको कीर्तिमान भंग गरे। उनी मार्सेभन्दा ७० दिन जेठा अवस्थामा गोल गर्न सफल भए। जिरुड अब सर्वाधिक गोलकर्ता थिएरी हेनरी भन्दा २ गोलले पछि रहेका छन्। हेनरीले ५१ गोल गरेका थिए। यदि फ्रान्स बिहीबार राति भएको खेलमा पराजित भएको भए रेलिगेशनमा पर्ने खतरा रहने थियो।

समूहकै अर्को खेलमा क्रोएसिया डेनमर्कलाई हराउँदै शीर्ष स्थानमा उक्लिन सफल भयो। क्रोएसियाले डेनमार्कलाई २-१ ले पराजित गरेको थियो। अंक तालिकामा क्रोएसिया १० अंकका साथ शीर्ष स्थानमा रहँदा ९ अंकका साथ डेनमार्क दोस्रो र ५ अंकका साथ फ्रान्स तेस्रो स्थानमा रहेको छ। अस्ट्रिया ४ अंकका साथ पुछारमा रहेको छ।

असोज ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्