खेलाडी उपचारका लागि अस्पताल भौतारिँदै, जिम्मेवार निकाय प्रदेश खेलकुद विकास बोर्ड गुमनाम

विराटनगर – विराटनगरमा जारी नवौँ राष्ट्रिय खेलकुद छनोटका लागि फुटबल खेल्न आएका खेलाडी अस्पतालमा उपचारका क्रममा भेटिएका छन्।

विराटनगरको सहिद मैदानमा बिहीबार दिउँसो भएको छनोट खेल अन्त फुटबल खेल्दा घाइते भएका खेलाडी बेवारिसेझैँ विराटनगरको अस्पतालमा भौँतारिन पुगेका हुन् ।

चर्को घामसँगै दिउँसो २ बजे खेलिएको संखुवासभा र ओखलढुंगाबीच खेलमा घाइते भएका संखुवासभा जिल्लाका दुई खेलाडी राति विराटनगरका विभिन्न अस्पतालमा उपचारका लागि भौँतारिएका हुन् ।

खेलका क्रममा चोट लागेपछि उनीहरूलाई अस्पताल लैजानुपरेको संखुवासभाको टोलीका टोली ब्यवस्थापक राज श्रेष्ठले बताए ।

ओखलढुंगालाई २ काविरुद्ध ३ गोलले पराजित गरेपनि दुई खेलाडी घाइते हुँदा टोलीको फिक्का बन्न पुगेको थियो । संखुवासभा कुन्तांगका २१ वर्षीय जीवन मगर पहिलो हाफमा बाइसाइकल किक प्रहार गर्ने क्रममा घाइते भएका थिए ।

यद्यपि, प्राथमिक उपचारपछि उनी पहिलो हाफसम्म गर्मीमा खेलिरहे । संखुवासभाका प्रशिक्षक दीपक चौहान घाइते खेलाडी मगरको बडि ल्यांग्वेजबाट खुसी देखिएनन् ।

उनले मगरसँग कुरा गर्दै गर्दा, मगरले छिनछिनमा कुरा बिर्सिँदै सम्झिँदै गरेको अनुभव सुनाए । घाँटीको पछिल्लो भागमा चोट लागेको हुनसक्ने अनुमान गरेका प्रशिक्षक चौहान र टोली ब्यवस्थापक श्रेष्ठले आयोजक प्रदेश १ खेलकुद विकास बोर्डका पदाधिकारी, जिम्मेवारलाई खोजे । तर उनीहरुले मैदानमा आयोजकतर्फबाट कोही नभेटेपछि घाइते भएका खेलाडीलाई विराट नर्सिंग अस्पताल उपचारका लागि पुर्याए ।

त्यस समयसम्म घाइते खेलाडी मगर घरि कुरा गर्दै विर्सने र घरि सम्झने गर्दै गरेको अवस्थामा रहेको ब्यवस्थापक श्रेष्ठले बताए । उनले भने, ‘विराट नर्सिंग अस्पतालमा हामी उपचारका लागि सिटी स्क्यान गर्ने क्रममा थियौँ । तर एकाएक साथीहरूले अर्का खेलाडी सुनिल गजमेरपनि टोलाउन थालेको भन्दै अत्तालिएर खबर गरे । विराटनगरमा खेल्न आएको हामी, धेरै कुरा थाहा छैन । आयोजक पक्ष पनि कोही नभेटिदाँ समस्या भयो । अत्याधिक गर्मीको अवस्थामा खेल्दा हामीलाई समस्या भयो ।’

‘संखुवासभाबाट आएदेखि खेल्न थालिएको छ । विश्राम भन्ने कुरा कतै छैन । त्यसमाथि गर्मीले डिहाइड्रेसनको समस्या । कसरी ब्यवस्थापन गर्नु टोली । समस्या भएको छ ।,’ प्रशिक्षक चौहानले बताए ।

विराटमा सिटी स्क्यान नगरी अर्का खेलाडीको अवस्था बुझन् प्रशिक्षक चौहान र श्रेष्ठ टोली भएको स्थानमा फर्किए । टोलीको बसाई इटहरी भएपनि खेलाडीको अवस्थाले उनीहरु विराटनगरका अस्पतालमा बेलुकासम्म दौडी रहे । ‘एकाएक टोलाउन थालेका गजमेरलाई कोशी अस्पतालमा उपचारका लागि पुराउँदा अस्पताल भरिएको अवस्थामा रहेको थियो,’ प्रशिक्षक चौहानले भने ।

कोशी अस्पतालमा उपचार गर्न संभव नभएपछि उनीहरुले गजमेरलाई नजिकैको गोल्डेन अस्पतालमा उपचारका लागि पुर्याए । जहाँ गजमेरको सामान्य उपचार गरियो । यसक्रमसम्म दुवै खेलाडी घरी विर्सने, घरी सम्झने अवस्थामा थिए । घाइते गजमेरले भने, ‘मलाई नै थाहा छैन म कसरी यहाँ(अस्पताल) आइपुगेँ । म त मैदानमा थिए । होस आउँदा जस्तो हुँदा अस्पतालमा आएको छु । खेल, मैदानदेखि अस्पताल भर्नासम्म के-के भयो मैले केही थाहा पाउन सकिनँ ।’

छनोट खेलको तेस्रो म्याच भइरहदाँ आयोजक पक्षका जिम्मेवार ब्यक्तिसFगै खेल संयोजक, म्याच एसेसर समेत उपस्थिति नभएको उनीहरुको गुनासो छ । जिम्मेवारवहन गरेका ब्यक्ति नहुदाँ र एकाएक चर्को घाममा खेलिनुले समस्या भएको उनीहरुको भनाइ छ । चिसो स्थानबाट आएको र मध्यदिउँसो खेल नखेलाउन पटकपटक आग्रह गरेपनि सुनुवाइ नभएको टोली ब्यवस्थापक श्रेष्ठ बताउँछन् ।

श्रेष्ठले भने, ‘यसबारे हामीले भनिरहदाँ केही सुनुवाइ भएन । आज साथीहरू घाइते भएका छन् । भोलीको(शुक्रबार) सेमीफाइनल खेल २ बजे नै राखिए हामी नखेल्ने अवस्थामा पुगेछाैँ। यस्तो अवस्थामा कसरी खेल्न सकिन्छ ? खेलभर जिम्मेवार कोही छैनन्, कसलाई कहाँ के भन्नु । यस्तो खेलमा सहभागिता भइन्छ भन्ने सोचपनि थिएनौँ । धेरै लापार्वाह र गैह्रजिम्मेवारीपन देखिएको छ ।’

अर्कोतर्फ, बोर्डका सदस्य एवं प्रतियोगिता संयोजक प्रदीप भगतले खेलाडीलाई समस्या पर्दा साथमा रहेको दाबी गरे । उनले भने, ‘खेलाडीसँग भएको घटनाबारे जानकार छौँ । एकजना पदाधिकारीलाई तत्कालै खेलाडी हेर्न गोल्डेन अस्पताल पठायौ ।’ भगतले भने, ‘उपचारमा लाग्ने खर्च मै ब्यहोर्छु । खेलाडीको मर्म मैले बुझेको छु । म पनि खेलाडी हो । घाइतेका साथीहरूले बोलाउदाँ तत्काल भौतिक रुपमा मात्र उपस्थित हुन नसकिएको हो ।’

प्रदेश खेलकुद विकास बोर्डले फुटबल खेलाडीलाई प्रतिदिन १ हजार ६ सय रुपैयाँ उपलब्ध गराएको छ । जसबाट खानेबस्ने ब्यवस्था खेलाडीले नै गर्नुपर्ने बोर्डले जनाएको छ । सोही अनुसार छनोट खेल्न आएका अधिकांश टोलीले इटहरीलाई बासस्थान बनाएका छन् । चोटिल खेलाडीसाथ भएको संखुवासभाको टोलीसमेत बेलुका घाइते खेलाडीलाई लिएर न्यास्रिदै इटहरी लागेका थिए ।

घटनाबारे जानकारी लिन प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई सम्पर्क गर्दा फोन रिसिभ हुन सकेन् ।

असोज ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्