वीरगञ्ज भन्सार भदौमा पनि राजश्व लक्ष्य पूरा गर्न असफल, आयात निर्यात दुवै घट्यो

फाइल तस्बिर।

वीरगञ्ज – मुलुकको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार नाकाले चालु आर्थिक वर्ष २०७९/८० को भदौ महिनामा पनि लक्ष्यभन्दा कम राजश्व संलकन गरेको छ ।

भन्सारले भदौमा भन्सार विभागबाट पाएको राजश्व लक्ष्य भन्दा २७ प्रतिशत कम राजश्व संकलन गरेको हो । भन्सारले उपलब्ध गराएको तथ्यांक अनुसार भदौ महिनामा वीरगञ्ज भन्सार कार्यालयले १४ अर्ब १४ करोड २५ लाख १३ हजार बराबर राजश्व संकलन गरेको छ ।

यो भन्सार विभागबाट पाएको लक्ष्यभन्दा २७ प्रतिशतले कम रहेको छ । भदौ महिनामा वीरगञ्ज भन्सार कार्यालयले भन्सार विभागबाट कुल १९ अर्ब २९ करोड ४५ लाख ७६ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर सो अनुसार यस कार्यालयले राजश्व संकलन गर्न असफल भएको हो ।

सरकारले पछिल्लो समय विभिन्न १० वटा वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएका कारण भन्सारले लक्ष्य पूरा गर्न नसेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । मोटरसाइकल, गाडी लगायतका सवारी साधनको आयातमा गरिएको बन्देजका कारणले भन्सारको राजश्व असुली उनले बताए ।

विदेशबाट आएका एक हजार ५ सयभन्दा बढी विभिन्न सवारी साधनहरू अहिले पनि भन्सार नाकामै थन्किएर बसेका छन् । बैंकहरूले पछिल्लो समय साना तथा ठूला सवारी साधनमा कर्जा प्रवाहमा कमी ल्याएपछि नयाँ सवारी साधन बिक्रीमा कमी आएको छ । त्यसैकारण नेपाल भित्रिने तयारीमा रहेका साना ठूला विभिन्न सवारी साधन वीरगञ्ज भन्सार नाकामा पनि रोकिएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयले चालु आ.व.को साउन महिनामा पनि लक्ष्यभन्दा १४.५ प्रतिशत कम राजश्व संकलन गरेको थियो । गत आर्थिक वर्षको भदौ महिनामा भने वीरगञ्ज भन्सारले लक्ष्यभन्दा १३ प्रतिशतले बढी राजश्व संकलन गरेको थियो ।

निर्यात ६५ र आयात ६ प्रतिशतले घटयो, वैदेशिक ब्यापारमा १६ प्रतिशतले कमि
वीरगञ्ज भन्सार नाका भएर भदौ महिनामा भएको विभिन्न वस्तुहरूको आयात र निर्यात दुवै घटेको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार भदौमा यो नाका भएर ९९ अर्ब ५६ करोड चार लाख ५० हजार बराबरको वस्तुहरू आयात भएको छ ।

यो गत आवको यसै महिनाकोभन्दा ६ दशमलव ४ प्रतिशतले कम हो । गत आवको भदौमा भने वीरगञ्ज नाका भएर एक खर्ब ६ अर्ब ४० करोड १७ लाख ५६ हजार बराबरको विभिन्न वस्तुहरू आयात भएको थियो ।

यस्तै, चालु आवको भदौ महिनामा निर्यातसमेत घटेको छ । भदौमा यस नाका भएर ७ अर्ब ४७ करोड ४५ लाख ९७ हजार बराबरको वस्तुहरू निर्यात गरिएको छ । जबकी गत आवको यसै महिनामा भने यो नाका भएर २१ अर्ब ४७ करोड २१ लख ६७ हजार बराबरको वस्तुहरू निर्यात गरिएको थियो ।

यस तथ्यांक अनुसार निर्यात भने ६५.२ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको भदौ महिनामा वीरगञ्ज भन्सार नाका भएर हुने वैदेशिक ब्यापारसमेत घटेको छ । यस महिनामा यो नाका भएर कुल एक खर्ब ७ अर्ब ३ करोड ५० लाख ४७ हजार बराबरको वैदेशिक ब्यापार भएको छ ।

जबकी गत आवको यही महिनामा भने एक खर्ब २७ अर्ब ८७ करोड ३९ लाख २३ हजारको वैदेशिक ब्यापार भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । यस आंकडा अनुसार गत आवभन्दा चालु आवमा वीरगञ्ज भन्सार नाका भएर १६.३ प्रतिशतले वैदेशिक ब्यापारमा कमि आएको हो ।

असोज ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्