नेपालको प्राथमिकता ‘कनेक्टिभिटी’ निर्माण गर्नु हो: परराष्ट्र सचिव

फाइल तस्बिर।

काठमाडौँ – परराष्ट्र सचिव भरतराज पौड्यालले संयुक्त राष्ट्रसंघको ७७औँ महासभाको अवसरमा अमेरिकाको न्यूयोर्कमा छुट्टाछुट्ट आयोजना गरिएको भूपरिवेष्ठित विकासशील देश (एलएलडीसी) र अतिकम विकसित देश (एलडीसी) को वार्षिक मन्त्रिस्तरीय बैठकलाई बिहीबार सम्बोधन गरेका छन् ।

एलएलडीसी मन्त्रिस्तरीय बैठकमा परराष्ट्र सचिव पौड्यालले महामारी, जलवायु संकट र प्राकृतिक प्रकोपका कारण व्यापार, यातायात र कनेक्टिभिटीको क्षेत्रमा विकसित चुनौतीका बारेमा नेपालको धारणा राखेका थिए ।

उनले डिजिटल कनेक्टिभिटी, पूर्वाधारको विस्तार र एलएलडीसीहरूको लागि विश्वव्यापी सहयोग सुदृढीकरणको आवश्यकता रहेको औंल्याएका थिए । भियना कार्यक्रमको कार्यन्वयनलाई तीव्रता दिनुपर्नेमा उनले जोड दिएका थिए ।

‘नेपालले सन् २०२६ सम्ममा एलडीसीबाट स्तरोन्नती हुँदै गर्दा नेपालको प्राथमिकता पूर्वाधारको माध्यमबाट बलियो कनेक्टिभिटी निर्माण गर्नु हो । यसका लागि ट्रान्जिट देशहरू र हाम्रा विकास साझेदारहरूबाट हामी अझ ठूलो सहयोगको अपेक्षा गर्छौँ,’ परराष्ट्र सचिव पौड्यालले भने ।

एलडीसको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्र सचिव पौड्यालले असमानता, आपतकालिन जलवायु र कोभिड महामारी जस्ता चुनौतिहरू अतिकम विकसित देशहरूले सामना गर्नुपरेको बताए ।

उनले एलडीसी राष्ट्रहरुले चार दशकीय कार्ययोजना कार्यान्वयन गरेपछि पनि अविकसित र गरिबीको चपेटामा परिरहेकोमा चिन्ता व्यक्त गरेका थिए ।

दोहा कार्ययोजनाले अनुमोदन गरेअनुसार उत्पादनशील क्षमता निर्माण, लगानी र व्यापार प्रवर्द्धन, गरिबी न्यूनीकरण र समस्या समाधानका लागि संस्थाहरूलाई बलियो बनाउनु पर्नेमा उनले जोड दिएका थिए ।

असोज ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्