चलचित्र ‘नालापानी’को टिजर सार्वजनिक

काठमाडौँ – आगामी कार्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक कथावस्तुमा निर्माण भएको चलचित्र ‘नालापानी’को टिजर सार्वजनिक भएको छ।

बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको १ मिनेट ४१ सेकेण्डको टिजरमा अंग्रेजी फौजसँग नेपालीहरुले लडेको युद्धलाई देखाइएको छ।

रिमेश अधिकारी निर्देशित फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाल–अंग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर निर्माण भएको हो।

चलचित्र विकास बोर्डले दुई वर्ष अगाडि विशेष चलचित्र घोषित गरेको ‘नालापानी’को रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्।

प्रा.डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र’ पुस्तकमा आधारित रहेर इतिहासविदहरू प्रा. डा. धनराज कुँवर, प्रा. डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा. डा. सुरेन्द्र केसी, पूर्व सहायक रथी डा. प्रेम सिंह बस्न्यातहरूसँग पटक–पटक छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायतका पुस्तकमा आधारित रहेर ‘नालापानी’ तयार पारिएको हो।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलियासाथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ।

‘नालापानी’का एशोसियट निर्माता सपनकुमार थापा, सह–निर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन्।

असोज ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्