संविधानको संरक्षकबाटै संविधान मिच्ने काम भयोः प्रचण्ड

फाइल तस्बिर।

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको संरक्षकबाटै संविधान मिचिएको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानको पालक र संरक्षकले नै खुलेआम संविधान मिच्ने काम गरेको बताएका हुन्।

उनले संरक्षकबाटै जानीबुझी संविधान मिच्नु सामान्य कुरा नभएको भन्दै प्राप्त भएका उपलब्धिहरु खोस्ने षड्यन्त्रको रुपमा रहेको टिप्पणी गरे। उनले देशमा प्रतिगमनको षड्यन्त्र गत वर्षदेखि सुरु भएको उल्लेख गर्दै हालसम्म नरोकिएको बताए। उनले आफूहरुले सतर्कता गुमाएमा तथा एकतालाई कमजोर पारेमा कुनै पनि दिन प्रतिगमन हुनसक्ने खतरा रहेको बताए।

उनले भने, ‘प्रतिगमनको षड्यन्त्र गत सालदेखि सुरु भएको छ। त्यो रोकिएको छैन। त्यो नयाँ–नयाँ रुपमा फेरि अगाडि ल्याउने जमर्को भइराखेको छ। अहिले संविधान खुलेआम मिच्ने, संविधानको पालक र संरक्षकबाट नै जानीबुझी, नजानेर, झुक्किएर भन्ने होइन। जानीबुझी संविधान मिच्ने जो काम भएको छ, यो सामान्य होइन।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेकोप्रति असन्तुष्टि व्यक्त गरे। विधेयक प्रमाणीकरण नगरेर संविधान र परिवर्तनमाथि प्रहार भएको उनको भनाइ छ।

उनले परिवर्तनको रक्षाका लागि सडकमा जानुपर्ने आवश्यकता रहेको पनि बताए।

असोज ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्