ताक्चीबाट फिर्ता भए पर्यटन व्यवसायी

सिमकोट – ताक्चीमा पर्यटकको बास व्यवस्थापनका लागि बस्दै आएका पर्यटन व्यवसायी फिर्ता भएका छन्। यसपटक धार्मिक पर्यटकको ठूलो समूहले दर्शन गर्ने कार्य पूरा भएपछि व्यवस्थापनमा खटिएका पर्यटन व्यवसायी फिर्ता भएका हुन्।

होटल व्यवसायी गोर्ख लामाले ताक्चीमा पर्यटकको व्यवस्थापनका लागि खटिँदै आएका पर्यटन व्यवसायी फिर्ता भएको बताए।
ताक्चीमा मात्र ६५ जना पर्यटन व्यवसायी खटिएका थिए। स्थानीय र बाह्य व्यवसायी सिमकोटसमेत गरी सय जना पर्यटन व्यवसायी व्यवस्थापनका लागि खटिएका थिए। तीमध्ये ८० जना बाहिरबाट गएका व्यवसायी सिमकोटबाट फिर्ता भएका छन्।

ती व्यवसायी एक महिनादेखि ताक्चीमा बस्दै आएका थिए। उनले यस वर्ष लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकको संख्या एक हजार १७५ जना पुुगेको र उनीहरू सबैले लाप्चाबाट दर्शन गरेर फिर्ता भएको बताए। पर्यटन व्यवासायीसमेत रहेका लामाका अनुुसार मौसमले साथ दिएका कारण एक दुुई समूहबाहेक अन्य सबै पर्यटक दर्शन गर्न सफल भएका छन्।

एक जना पर्यटक भने श्वासप्रश्वासमा समस्या आएपछि ताक्चीबाटै फिर्ता भएका थिए। उक्त धार्मिक पर्यटकमा सद्गुुरु (जग्गी जगदीश) समेतले लाप्चाबाट दर्शन गरेका थिए।
पर्यटकमा भारत, बेल्जियम, अमेरिका, जर्मनलगायत १९ देशका थिए। पर्यटकका लागि सुुरुमा सिमकोट, लेकधिंगा र ताक्चीमा बासको व्यवस्था गरिए पनि लेधधिंगामा व्यवस्थापन गर्न कठिन भएपछि सिमकोटस्थि रानीबनमा व्यवस्था गरिएको थियो।

मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटक आगमन बढेपछि किसानको तरकारी, सवारी साधन, इन्धन र होटल व्यवसायी प्रत्यक्ष लाभान्वित भएका छन्। यो समूहबाहेक अन्य केही पर्यटक पनि हुम्ला आउनका लागि सम्पर्कमा आएको जनाइएको छ।

आन्तरिक पर्यटक भने लाप्चा पुुगेर दर्शन गर्ने कार्य जारी छ। नाम्खा गाउँपालिका–६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले तीन सयभन्दा बढी आन्तरिक पर्यटकले लाप्चाबाट दर्शन गरेको बताए। सद्गुुरुले दुुई वर्ष लगातार लाप्चाबाट दर्शन गरेपछि यसको महत्व बढेको विश्वास गरिएको छ।

असोज ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्