खार्पुनाथमा शाही उत्कृष्ट स्वास्थ्यकर्मी छनोट

सिमकोट – खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँ स्वास्थ्य चौकीका इन्चार्ज हरिभक्त शाही गाउँपालिकाभरि स्वास्थ्य इन्चार्जमध्ये उत्कृष्ट ठहरिएका छन्।

कार्यसम्पादन तथा मूल्यांकनका आधारमा उनी उत्कृष्ट ठहरिएका हुन्।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बलिराज शाहीले गत वर्ष गाउँपालिकाभित्रका चार वटा स्वास्थ्य चौकीमध्ये शाही इन्चार्जमा उत्कृष्ट ठहरिएको जानकारी दिए।

कार्यालय व्यवस्थापन, सेवा प्रवाह, समन्वय र सहकार्य, स्वास्थ्य व्यवस्थापन, नेतृत्व गर्ने क्षमता, कार्यक्रम सञ्चालन गर्ने क्षमता, मासिक बैठकमा सहभागीजस्ता सूचकलाई आधार बनाउँदा शाहीले १७ अंक ल्याएका थिए।

यस आधारमा शाही राम्रो काम गर्ने स्वास्थ्य शाखा इन्चार्ज छनोट हुन सफल भएको उनले बताए।

इन्चार्जमा शाही उत्कृष्ट ठहरिए पनि स्वास्थ्य चौकीमा भने वडा नम्बर ३ को राया स्वास्थ्य चौकी उत्कृष्ट ठहरिएको छ।

यसका लागि शाखाले पाँच वटा सूचक बनाएको थियो। जसमा स्वास्थ्य सूचक, तथ्यांक गुणस्तर, न्यूनतम सेवा मापदण्ड, प्रस्तुुतीकरण र तेस्रो पक्षको अनुुगमनलाई अंकभार तय गरेको थियो।

यी सूचकलाई आधार मानेर मूल्यांकन गर्दा राया स्वास्थ्य चौकीले २१ अंक ल्याएर पहिलो भएको थियो भने खार्पुनाथ स्वास्थ्य चौकीले १७ अंक ल्याएर द्वितीया तथा १६ अंक ल्याएर छिप्रा स्वास्थ्य चौकी तृतीय भएको थियो।

उत्कृष्ट ठहरिएका स्वास्थ्यकर्मी र चौकीलाई नगद तथा प्रशंसा पत्र प्रदान गरिएको थियो। गत वर्षबाट शाखाले यो कार्यको थालनी गर्दै आएको थियो।

असोज ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्