२५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’को निर्माण पूरा

फाइल तस्बिर

लमजुङ – दोर्दी गाउँपालिका–६ ढोडेनी भएर बग्ने दोर्दी खोलामा लिवर्टी इनर्जी कम्पनीले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ को निर्माण पूरा भएको छ।

आयोजनाको सिभिल संरचना र उपकरण जडानलगायत सबै क्षेत्रको काम सकिएको आयोजनाका सञ्चालकक राजेन्द्र वस्ती बताउँछन्। ‘नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली आएसँगै बिजुली उत्पादन परीक्षण सुरु गरिनेछ,’ उनले भने।

आयोजनाको दुई साताको बिजुली उत्पादन परीक्षण सफल भएमा व्यापारकि उत्पादन सुरू गरिनेछ। आयोजनाको विद्युत प्राधिकरणको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ।

आयोजना निर्माणको काम यसअघि नै अन्तिम चरणमा पुर्‍याए पनि २०७८ असारमा आएको बाढीले ठूलो क्षति पुर्‍याउँदा प्रभावित भएको थियो। बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माणको काम सकिएको हो।

आयोजनाबाट २०७६ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो। तर, प्रसारणलाइनको समस्या, कोरोना महामारी र बाढीपहिरोको कारण उत्पादन तालिका धकेलिँदै आएको आयोजनाले जनाएको छ।

यसअघि आयोजना सम्पन्न गर्न चार अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लागतमा सम्पन्न भएको थियो। बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माण गर्दा लागत बढेको छ। आयोजना सञ्चालनमा आएपछि वार्षिक १३ करोड ६७ लाख ८४ हजार ८ सय ६९ युनिट विद्युत उत्पादन हुनेछ।

दोर्दी कोरिडोरमा माथिल्लो दोर्दी ‘ए’सँगै ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, १२ मेगावाटको दोर्दी–१ लगायत आयोजना निर्माणाधीन छन्। २७ मेगावाटको दोर्दी खोलाले भने विद्युत उत्पादन परीक्षण सुरु गरेको छ।

असोज ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्