एमाले देखेपछि सत्तारुढ दलहरु डरले कामेका छन्ः ओली

फाइल फोटो।

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरु गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन्।

अध्यक्ष ओलीले सत्तारुढ दलहरुलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले त्रिशुलीको भेलले बगाएजसरी बगाउने निश्चित भएपछि उनीहरुले गठबन्धनको त्यान्द्रो समाउनु परेको जिकिरसमेत गरे।

राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै उनले अनेकथरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको दाबी गरे।

उनले भने, ‘अनेकथरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि प्रमुख पार्टीबाट कमजोर पार्न सकेका छैनन्। अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाविला गर्ने कुरा त्यही पनि उनीहरुको धनु कामेको छ एमाले देखेपछि। गर्मीमा पनि उनीहरु धेरै जाडोमा मानिसहरु काम्छ नि थरर त्यसरी कामेका छन्। त्यसैकारण उनीहरुले यो गठबन्धन बनाउनु परेको छ।’

ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने दाबी गरे।

असोज ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्