राष्ट्रपतिबाट संविधान विपरीत काम भयोः मन्त्री भुसाल

फाइल फोटो।

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले संवैधानिक व्यवस्थाको बर्खिलाप हुने काम राष्ट्रपति संस्थाबाटै भएको भन्दै आपत्ति जनाएकी छन्।

मन्त्री भुसालले सेरेमोनियल राष्ट्रपतिले संसदबाट पुनः पारित गरी पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेको बताइन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान, कानुन र विगतका सरकारहरुले नै ल्याएको विधेयक र अध्यादेशमा आधारित भएर सरकारले ल्याएको सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर गल्ती गरेको पटक–पटक दोहोर्‍याइन्।

मन्त्री भुसालले नेपालको संविधानले राष्ट्रपति संस्थालाई निर्णय नगर्ने र गल्ती पनि नगर्ने सम्मानित संस्थाको रुपमा राखेको भन्दै त्यसलाई विवादमा पार्ने काम गर्न नहुने स्पष्ट पारिन्।

यस्तै, मन्त्री भुसालले निर्वाचनलाई सहज ढंगले तोकिएकै मितिमा सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको पनि बताइन्।

उनले भनिन्, ‘हाम्रो संविधानले सेरेमोनियल राष्ट्रपतीय प्रणाली र कार्यकारी अधिकारसहितको प्रधानमन्त्रीको व्यवस्था गरेको हो। त्यसो भएर त्यो सेरेमोनियल राष्ट्रपतिले कुनै निर्णय पनि गर्दैन, गल्ती पनि गर्दैन।’

असोज ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्