किरण पञ्जाबमा अनुबन्धित

किरण चेम्जोङ।

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ भारतीय आईलीग क्लब पन्जाब एफसीमा अनुबन्धित  भएका छन्। फिफाको अधिकारिक खेलाडी स्थानान्तरण माध्यम ट्रान्सफर म्याचिङ सिस्टम (टिएमएस) अनुसार किरण गत महिना नै पन्जाब एफसीमा आबद्ध भएपनि क्लबले औपचारिक रुपमा शुक्रबार आफ्नो फेसबुक पेजमार्फत उनको अनुबन्धनबारे जानकारी दिएको हो।

किरणले पनि समाजिक सञ्जालमार्फत पुनः पन्जाबमा फर्कदा खुसी लागेको र टोलीलाई च्याम्पियन बनाउन आफ्नोतर्फबाट राम्रो प्रदर्शन गर्ने उल्लेख गरेका छन्।  यसअघि किरण माल्दिभ्सको लिग च्याम्पियन टोली माजिया स्पोर्टस एन्ड रिक्रिएसन सेन्टरबाट ब्यबसायिक फुटबल खेल्दै आएका थिए। उनी माजियालई दिवेही प्रिमियर लिग उपाधि दिलाउँदा उत्कृष्ट गोलरक्षक घोषित भएका थिए।

पञ्जाबमा भने किरण तेस्रो पटक अनुबन्धित भएका हुन्। यसअघि किरण सन् २०१७ र१८ को सिजनमा पन्जाबमा आबद्ध भएका थिए। त्यो सिजन पन्जाब लिग च्याम्पियन बनेको थियो। त्यसयता उनी भारत र माल्दिभ्सका क्लबहरुमा आबद्ध हुँदै आएका छन्। २०१८ माल्दिम्सको टिसी स्पोर्टस्लाई लिग च्याम्पियन बनाएका किरण उत्कृष्ट गोलकिपर समेत बनेका थिए।

उनी पञ्जाबमा दोस्रो पटक सन् २०१९-२० को सिजनमा आबद्ध हुँदा पञ्जाब लिगमा तेस्रो भएको थियो। तर किरण भने उत्कृष्ट गोलरक्षक चुनिएका थिए। दशरथ रंगशालामा मंगलबार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि किरण २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीमा परेका छन्।

असोज ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्