दुःखी छैन भन्दै आँशु बगाएर व्यावसायिक टेनिसबाट बिदा लिएका महान खेलाडी रोजर फेडेरर

तस्बिर: लेभर कपकाे ट्विटर ह्यान्डलबाट।

महान खेलाडी रोजर फेडेररले व्यावसायिक टेनिसबाट बिदा लिएका छन्। उनले अर्का महान खेलाडी राफायल नाडालसँग लेभर कपमा टिम-अप गरेपछि शुक्रबार राति भावुक हुँदै व्यावसायिक खेल जीवनबाट बिदा लिएका हुन्।

आँशु बगाउँदै बिदा मागेका उनले आफ्नो खेल जीवन अहिलेको अवस्थामा आउनुमा साथी खेलाडीदेखि परिवार र समर्थकको हात रहेको बताए।

४१ वर्षका फेडेररले उपस्थित दर्शकबाट लामो ‘स्ट्याण्डिङ अवेशन’ पाएका थिए। स्वीस खेलाडी फेडेररले एकलतर्फ २० ग्राण्डसलाम उपाधि जितेका छन्। उनी टेनिसका एक महान खेलाडीका रूपमा मानिन्छन्।

‘यो दिन निकै उत्कृष्ट रह्यो। म खुशी छु, दुःखी छैन। यहाँ हुन पाउँदा निकै राम्रो लागेको छ। मैले यो यात्रा तय गरेँ, यसमा खुशी छु’, फेडेररले भनेका छन्।

नाडाल र अरू खेलाडीलाई अंगालो हाल्दा फेडेरर रोए। अन्तर्वार्ताको क्रममा पनि हरेक वाक्यमा रोएका थिए। नाडाल पनि रोए। ३६ वर्षका नाडाल फेडेररको साथमा बसेका थिए। बेलायती गायिका एली गोल्डिङले गीत गाइरहँदा नाडाल र फेडेरर रोएका थिए।

एकल स्पर्धामा लामो समयदेखिका प्रतिस्पर्धी नाडाल र फेडेररले वार्षिक रूपमा हुने लेभर कपमा युरोप भर्सेज बाँकी विश्वको खेलमा जोडी बनाएका थिए। उनीहरूले अमेरिकी खेलाडी ज्याक सोक र फ्रान्सिस टिफोसँग प्रतिस्पर्धा गरेका हुन्।

सो खेलमा नाडाल-फेडेररको टिम ४-६, ७-६ (७-२) र ११-९ ले पराजित भए। फेडेरर र नाडाललाई स्नेहले ‘फेडाल’ नाम दिइएको छ।

पूर्व विश्व नम्बर १ फेडेररले २५ वर्षको खेल जीवनमा १७ सय ५० प्रतिस्पर्धात्मक खेलमा खेलेका छन्।

आँशु रोक्ने प्रयास गर्दै फेडेररले भने, ‘यो उत्कृष्ट यात्रा रह्यो। फेरि पनि यो यात्रा तय गर्ने छु।’

असोज ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्