रुप्सेको रुप र अनिश्चित पहिरोको त्रास (तस्बिर/भिडियो)

पहिरो छिचोल्दै झरेर कालिगण्डकीमा मिसिने म्याग्दीको प्रशिद्ध रुप्से झरना । तस्बिर : टंक ढकाल

म्याग्दी (दाना) – मुस्ताङ जाने बाटोअन्तर्गत म्याग्दीको दाना क्षेत्रमा पुगेपछि देखिने प्रशिद्ध रुप्से झरना पछिल्ला केही वर्षदेखिको पहिरोका कारण संकटमा परेको छ ।

तीन वर्षपहिले आएको बाढीले बेनी-जोमसोम-कोरला मार्गमा पर्ने रुप्से अवलोकनका लागि बनाइएको भ्युटावरसँगै पुल तथा स्थानीयको पसल र बाटो बनाउनका लागि राखिएको डोजरसमेत बगाएको थियो । त्यसयता हरेक वर्षको बर्खामा रुप्से क्षेत्रको अवस्था त्रासपूर्ण हुने गरेको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रमेश पुर्जाले बताएका छन् ।

‘रुप्से हाम्रो वडा या गाउँपालिकाको मात्रै नभएर नेपालकै सुन्दर पर्यटकीय गन्तव्य हो। तर पछिल्लो केही वर्षदेखि यसको सुन्दरताभन्दा पनि त्रास बढी भएको छ’, वडाध्यक्ष पुर्जाले भने, ‘पालिका स्तरमा रुप्सेको पहिरो व्यवस्थापन गरेर यसको सुन्दरता कायम राख्नका लागि लगानी गर्न सक्ने अवस्था छैन । केन्द्रबाट नै दीर्घकालीन रुपमा पहिरो व्यवस्थापन गरी यसको संरक्षणमा जोड दिनु पर्छ ।’

धौलागिरि हिमालको काखमा रहेका पहाड हुँदै आएको पानी छरछरे भन्ने स्थानबाट पहाडबाटै निस्किएर रुप्से झरना बनेको उनले बताए । करिब ७५ मिटर अग्लो रुप्से झरनाको पानी कालीगण्डकी नदीमा मिसिन्छ ।

तीन वर्ष पहिलेको पहिरोले रुप्सेको वास्तविक स्वरुप नै परिवर्तन गरिदिएको र अहिले पनि सो क्षेत्रमा सक्रिय पहिरो रहेकाले आफूहरुलाई त्रास हुने गरेको वडाध्यक्ष पुर्जाले बताए ।

वडाध्यक्ष पुर्जारुप्सेको संरक्षणसँगै त्यसले निम्त्याएको जोखिमको दीर्घकालीन समाधान गरी व्यवस्थित पर्यटकीय केन्द्रका रुपमा विकासका लागि माथिल्लो स्तरबाट पहल हुनुपर्ने बताउँछन् ।

हाल सडक विभागले तयारी अवस्थामा पहिरो पन्छाउनका लागि डोजरको व्यवस्था गरेको छ । सो डोजर स्थायी रुपमा त्यही राखिनुपर्ने गाउँपालिकाको माग छ । यस्तै दसैँसम्मका लागि विपद्को अवस्थामा तत्काल उद्धारका लागि पालिकाले एकजना घटाएको वडाध्यक्ष पुर्जाले जानकारी दिए ।

पालिकाले गएको वर्ष पर्यटन मन्त्रालयबाट रुप्से व्यवस्थापनका लागि पाएको २० लाख रुपैयाँ माथिल्लो क्षेत्रमा बाटो बनाउन प्रयोग गरेको थियो । ‘सो रकमले रुप्से व्यवस्थापन गर्न नसकिने भएकाले बाटोमा प्रयोग गरिएको हो’, वडाध्यक्ष पुर्जाले भने ।

चार वर्ष पहिले रुप्से झरना र विश्वकै गहिरो अन्धगल्छीको एकीकृत पूर्वाधार विकासका लागि योजना बनेको थियो । सो योजना अनुसार व्यवस्थित गन्तव्य बनाउन चाहिने पूर्वाधारका लागि दुई करोड ६५ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । लगातारको पहिरो र जोखिमपूर्ण भौगोलिक अवस्थितिका कारण सो काम हुन सकेको छैन ।

तर पहिरोले झारेका ठूला ढुंगा तथा गेग्रानसहितको जोखिमपूर्णबाटो हुँदै रुप्से कटेर मुस्ताङ तर्फको यात्रामा अघि बढेका पर्यटक तथा तिर्थालु अहिले पनि देखिन्छन् । उनीहरू जोखिमकै बीच रुप्सेको फेरिएकै भए पनि सुन्दर स्वरुप नियाल्छन् ।

स्थानीय बासिन्दाका लागि भने रुप्सेको रुपभन्दा पहिरोका कारण निम्तिरहेको अनिश्चितता तत्कालका लागि चिन्ताको विषय बनेको छ ।

रुप्से नियाल्न रोकिएका साइकल यात्री।

असोज ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्