सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना

फाइल तस्बिर

काठमाडौँ – शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्।

शुक्रबार पिसाब र डेंगी संक्रमणका कारण जोशी ललितपुरस्थित किष्ट शिक्षण अस्पताल भर्ना भएका हुन्।

अस्पतालले विज्ञप्ति जारी गर्दै संक्रमणसँगै कमजोर, खानामा अरुचि र अस्वस्थ महसुस भएको जनाएको छ।

जोशीमा पुरानो र मुटुको समस्या पनि देखिएको कारण उनलाई हाल सुक्ष्म निगरानीमा राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘अस्पतालका चिकित्सक तथा नर्सिङ्ग टिम उहाँको निवास पुग्दा हिजोभन्दा आज अझै कमजोर देखिएको र खानपीन पनि छोड्नु भएकाले सोही चिकित्सकीय टोलीद्धारा उहाँलाई यस अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो। ततपश्चात श्री जोशीलाई विभिन्न विभागका चिकित्सकद्वारा संयुक्त जाँच गरी विभिन्न प्रयोगशाला परीक्षण जाँच गरिएको थियो। सो जाँच अनुरूप उहाँलाई पिसाबमा संक्रमण, मुटुको समस्याका साथै डेंगी संक्रमण पनि देखिएको छ’, विज्ञप्तिमा भनिएकाे छ।

जोशीको अवस्था चिन्ताजनक देखिए पनि आत्तिहाल्नुपर्ने अवस्था नभएकाे अस्पतालका पल्मोनोलोजिस्ट तथा इन्टरनल मेडिसिनका विभागीय प्रमुख प्रा.डा. मिलेस जंग सिजापतिले बताए।

असोज ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्