खेलाडीको पीडाः छनौट खेल्दा घाइते, उपचार आफ्नै खर्चमा

मोरङ – पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको लागि प्रदेश १ मा खेलाडी छनोट कार्य जारी छ। प्रदेश १ खेलकुद विकास बोर्ड मातहत प्रदेशका १४ जिल्लाबाट खेलाडी चयन कार्य भइरहेको छ।

यसक्रममा फुटबलको छनोटका लागि विराटनगर आएका संखुवासभा जिल्लाका खेलाडी औषधि उपचारका लागि अस्पतालमा छन्। फुटबल खेलका क्रममा घाइते भएका २१ वर्षीय जीवन मगर, प्रशिक्षक दीपक चौहान, सुनील गजमेरको संखुवासभा फुटबल टोलीले नै उपचार गरिरहेको छ।

प्रतियोगिताभर खेलाडीको जिम्मेवारी लिएको राष्ट्रिय खेलकुद परिषद, प्रदेश १ खेलकुद विकास बोर्डले खेलाडी उपचारको विषयमा संवादसमेत गर्न सकेको छैन। विराटनगरबाट करिब २ सय किलोमिटर टाढाबाट खेल्न आएका खेलाडी बिहीबार रातीबाट उपचारका लागि अस्पताल भौतारिरहेका हुन्। तर, यसबारे प्रतियोगिता आयोजक, फुटबल संयोजक समिति बेखबर रहेको छ।

खेलाडी घाइतेबारे संखुवासभाका टोली व्यवस्थापक राज श्रेष्ठले भने, ‘टोली शनिबार बेलुका तेस्रो स्थानमा खेल्नका लागि तयार रहुन्जेलसम्म आयोजक वा फुटबल खेलाउँदै गरेका समितिका पदाधिकारीले उपचारबारे सोधखोज गरेका छैनन्। आफैले सबै खेलाडीको उपचार गरिरहेका छौँ। खर्च त परै जाऔस्, सोधखोजसमेत भएको छैन।’

घटना भएको बेलुका फुटबल समितिका अजित सिंह गोल्डेन अस्पताल आए पनि त्यसबाहेक खेलाडीबारे जानकारी लिन जिम्मेवार निकाय नआएको टोलीको गुनासो छ।

टोली व्यवस्थापक श्रेष्ठले भने, ‘बिहीबार टोली प्रशिक्षक दीपक चौहान बिरामी हुनुभयो। उहाँको इटहरीमा उपचार गरायौँ। बिहीबार खेलाडी जीवन मगर, सुनील गजमेर एकाएक चोटिल भए। शनिबार दिउँसोसम्म प्रदेश र आयोजक फुटबल समितिले केही सोधेको छैन।’

बिहीबार दिउँसो २ बजे खेल खेलिरहँदा मगर घाइते भएको टोलीको दाबी छ। संखुवासभा कुन्ताङका मगरको घाँटीको पछाडि चोट आएको टोलीले जनाएको छ।

टोली व्यवस्थापक श्रेष्ठले भने, ‘मगरको स्वास्थ्य अवस्थाबारे प्रतियोगिता आयोजकले बेवास्ता गर्दा घटना भएको करिब २४ घण्टापछि शुक्रबार बेलुका विराट नर्सिङ अस्पतालमा सिटी स्क्यान गरिएको थियो। जसको रिपोर्ट शनिबार आउने बताइएको छ।’

टोलीका अनुसार बिहीबार खेल खेल्ने क्रममा आयोजक पक्षका पदाधिकारी मैदानमा नहुँदा समस्या भएको गुनासो गर्छन्। खेल हुँदा म्याच एसेसेर, प्रतियोगिता संयोजक कोही नभएको खेलाडीहरुको भनाइ छ।

हालसम्म खेलाडीको उपचारमा १२ देखि १५ हजार रुपैयाँ खर्च भइसकेको टोलीको भनाइ छ। जुन रकम खेलाडी आफैले व्यवस्थापन गरेका छन्। प्रतियोगिताको समय कुनै खेलाडी गम्भीर घाइते भए त्यसका लागि लाग्ने उपचार खर्च परिषद्ले ब्यहोर्ने नियम बनाइएको छ। तर, आयोजक पक्ष खेलाडीको उपचार, खोधखोजमै पुग्न सकेको छैन।

खेलाडी कुन अवस्थामा खेलिरहेको भन्नेबारे बेखबर देखिएको आयोजक पक्ष भने ट्रफी प्रदर्शनीको तामझाममा शुक्रबारसहिद मैदानमा व्यस्त देखिएको छ।

असोज ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्