गजलकार प्रदीप रोदनको ‘मफलर’ लोकार्पण

काठमाडौँ – गजलकार प्रदीप रोदनको पहिलो गजलकृति ‘मफलर’ लोकार्पण गरिएको छ। काठमाडौँको प्रज्ञा-प्रतिष्ठान डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले साे पुस्तक सार्वजनिक गरेका हुन्।

कार्यक्रममा साहित्यकार न्यौपानेले रोदनको यो कृति गजलको रदिफ र काफिया मिलाइएको गजलसङ्ग्रह मात्र नभएर, मन्त्रहरूको सङ्ग्रह रहेको बताए।

‘जीवनलाई मथेर निकालिएको नौनी हो मफलर,’ उनले भने, ‘खारिएका पवित्र वाक्य यस सङ्ग्रहमा छन्। धेरै पुस्तक बोरामा थन्काउनुपर्ने हुन्छ। केही पुस्तक बुककेसमा सजाएर राखिन्छ। केही पुस्तक आफूले पढ्ने टेबलमा राखिन्छ। केही किताब यस्ता पनि हुन्छन्, जो सिरानीमुनि राखिन्छ । यो त्यसैगरी सिरानीमुनि राख्ने कृति हो।’

‘मफलरमा जीवन र हृदयको यस्तो ध्वनि छ, जहाँ अध्यात्म, व्यवहार र दर्शन मिसिएको छ,’ साहित्यकार न्यौपानेले थपे।

कार्यक्रममा लेखक रोदनले गजल लेख्दा आफूले कैयौँ पटक आफ्नै हृदय छामेको र सेरहरूको धड्कन महसुस गरेको बताए । ‘केही नबन्दा अरु केही बन्दो रहेछ । यसरी सेरहरूको माया क्षेत्र हृदयको गहिराइसम्म पुग्यो र गजल बने । जहाँ गजल बनेनन्, त्यहाँ फर्दहरू बने,’ उनले भने।

यी सम्पूर्ण गजल आफूले गोरखाको पाण्डेबेसीको माटोमा बसेर लेखेको उनले बताए। ‘म जति साहित्यलाई प्रेम गर्छु, त्यति नै अध्यात्मलाई। मैले लगाइरहेको संन्यास मालामा १०८ दाना छन्, जो मेरो हृदयलाई छोएर गलामा बसिरहन्छ। त्यसैले यस पुस्तकमा १०८ गजल र १०८ फर्द समावेश गरेको छु,’ लेखक रोदनले भने।

गोरखा पालुङटार पाण्डेबेसी जन्मथलो भएका प्रदीप रोदन आफ्नै गाउँको सरकारी विद्यालयमा शिक्षक छन्। देशविदेशका विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमा आफ्ना गजल प्रस्तुत गरेर धेरैको मन जितेका रोदनको पहिलो गजलकृति हो, ‘मफलर’।

उनले ०७३ सालमा ‘लोकप्रिय गजलकार अवार्ड’, ०७५ सालमा ‘उत्कृष्ट युवा प्रतिभा पुरस्कार’ र ०७९ सालमा ‘साताको साहित्य पुरस्कार’ पाएका छन् ।

यसअघि विशेषत: अख्यान र कविताका केही पुस्तक प्रकाशन गरेकाे फाइन प्रिन्टकाे याे पहिलाे गजल संग्रह हाे। लेखक सुविन भट्टराईकाे ‘इजाेरिया’, रवीन्द्र मिश्रकाे ‘विचारभन्दा माथि देश’ र डा‍.भगवान काेइरालाकाे ‘हृदय’ फाइन प्रिन्टबाट हालै प्रकाशित पुस्तक हुन्।

असोज ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्