ओलीको आरोपः गठबन्धनकै कारण जन्मसिद्धका सन्तानले नागरिकता पाउन सकेनन्

फाइल फोटो

जनकपुरधाम – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनकै नेताका कारण जन्मसिद्ध नागरिकका सन्तान नागरिकताबाट बञ्चित भएको आरोप लगाएका छन्।

आफूले अध्यादेश ल्याउँदा त्यसविरुद्ध मुद्दा हालेर गठबन्धनकै नेताले नागरिकता दिनबाट रोकेको ओलीको आरोप छ।

शनिबार धनुषाको विदेह नगरपालिका तिनकौरीया बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनकै नेताका कारण लाखौँ जन्मसिद्ध नागरिकका सन्तान नागरिकता लिनबाट बञ्चित भएको दाबी गरे। उनले अध्यादेश ल्याएपछि ५/१० हजारभन्दा बढीले वंशजको नागरिकता पाएको तर त्यसविरुद्ध मुद्दा परेपछि बाँकीले नागरिकता लिन नपाएको जिकिर गरे।

अध्यक्ष ओलीले संसदलाई छलेर गठबन्धन सरकारले प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले सुझावसहित पठाउँदा त्यसमाथि छलफल नै नगरी जस्ताको त्यस्तै आफ्नो अहंकार देखाउँदै विधेयक पुनः राष्ट्रपतिकहाँ पठाउँदा प्रमाणीकरण हुन नसकेको बताए।

अध्यक्ष ओलीले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनुपर्छ भन्ने कुरामा सुरुदेखि नै आफू प्रयासरत रहेको भन्दै उनले यसका लागि आफू प्रधानमन्त्री बनेको केहीदिनमै नागरिकता विधेयक ल्याएको तर विपक्षी गठबन्धन दलहरुले त्यसलाई असफल बनाउन संसदमा छलफल गर्नसमेत नमानेको आरोप लगाए।

आगामी पाँच वर्षभित्र देशबाट सुकुम्बासीको समस्या अन्त्य गर्ने बताउँदै उनले आफूहरुको सरकार रहेको समय सुकुम्बासीको समस्या समाधान गर्न काम गरे पनि अन्तिम समयमा सरकार परिवर्तन भएपछि आफूहरुको सरकारले लालपूर्जा दिन नसकेको बताए।

असोज ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्