प्रदेश–१ बाट नवौं राष्ट्रिय खेलकुदका लागि ७०६ खेलाडी छनोट

मोरङ – प्रदेश १ बाट पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा ७ सय ६ जनाले सहभागिता जनाउने प्रदेश १ खेलकुद विकास बोर्डले जनाएको छ।

विराटनगरमा शनिबार राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शनी एवं प्रदेश खेलाडी छनोट समापनका क्रममा बोर्डका सदस्य सचिव हंशराज वाग्लेले प्रदेशमा गरिएको छनोटबाट ७ सय ६ जनाले नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने बताएका हुन्।

सहिद मैदानमा आयोजित ट्रफी प्रदर्शनीका क्रममा सदस्य सचिव वाग्लेले नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेशका १४ जिल्लाबाट करिब १५ हजारभन्दा बढी खेलाडीले जिल्ला छनोट चरण पूरा गरे पनि प्रदेश छनोटमा ७ सय ६ जना चयन भएको जानकारी दिए।

सदस्य सचिव वाग्लेले खेलकुदका लागि जिल्ला, प्रदेशमा खेलाडी छनोट, पोखरामा सहभागिता र खेलाडी घर फर्काउञ्जेलसम्मका लागि करिब ९ करोड १९ लाख रुपैयाँ सरकारबाट प्राप्त भएको जानकारी दिए। उनले यसक्रममा करिब एक करोड रुपैयाँ खर्च अपुग हुने र त्यसका लागि प्रदेश सरकारसँग माग गरिरहेको जानकारी दिए।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले संघीयतापछि पहिलो पटक औपचारिक रुपमा प्रदेशतर्फबाट खेलकुदमा सहभागीता जनाउने खेलाडीलाई जितको शुभकामना दिए। खेलकुदका लागि बोर्डले माग गरेबमोजिम आवश्यक बजेट उपलब्ध गराएको बताएका मुख्यमन्त्री राईले सरकाले खेललाई माया गरेको र भोलिका दिनमा थप सहयोग गर्ने बताए।

कार्यक्रममा सामाजिक विकासमन्त्री राजन राईले राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई सरकारले उचित पुरस्कार र सम्मान गर्ने बताए।

कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले खेलाडीलाई जितको शुभकामना दिएका थिए।

ट्रफी प्रदर्शनी कार्यदलका संयोजक ‌ओलम्पियन दिपक विष्ट, पूर्व अन्तर्राष्ट्रिय कराँते खेलाडी दिपक श्रेष्ठ, अल्ट्राधाविका मिरा राई, राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाही, पूर्व राष्ट्रिय फुटबल प्रशिक्षक सन्तोष बानियाँ, लोकतान्त्रिक खेलकुद संघका प्रदेश १ अध्यक्ष बसन्तराज अर्याललगायतको सहभागिता रहेको थियो।

राष्ट्रिय खेलकुदमा प्रदेश १ ले लन टेनिसबाहेक ३५ वटा खेलमा सहभागिता जनाउँदैछ। नवौंमा प्रदेशबाट कुल ८ सय २० जनाको सहभागिता रहने बोर्डले जनाएको छ। जसमा प्रशिक्षक ६६, व्यवस्थापक ४८ जना, खेलाडीतर्फ ३ सय ३२ महिला र ३ सय ७४ जना पुरुष खेलाडीले स्पर्धा गर्ने बोर्डले जनाएको छ।

राष्ट्रिय खेलकुदमा प्रदेश–१


मुलुकमा संघीयतापछि दोस्रो पटक प्रदेश १ ले राष्ट्रिय खेलकुदको महाकुम्भमा सहभागिता जनाउँदैछ। २०७५ सालमा तत्कालीन प्रदेश ५ मा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा सहभागिता जनाउँदै प्रदेश १ सातौँ स्थानमा रहेको थियो।

विभागीय ३ र एक एनआरएनएसहित ११ वटा टोली सहभागी सो संस्करणमा प्रदेश १ ले ९ स्वर्ण, २० रजत र ५८ कास्य गरी कुल ८७ पदक हात पारेको थियो।

त्यसैगरि, २०७२ सालमा पूर्वाञ्चलमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुदमा पनि ७३ पदकसहित टोली सातौँ स्थानमा रहेको थियो। जसमा ७ स्वर्ण, १७ रजत, ४९ कास्य पदक पूर्वाञ्चलले जितेको थियो।

धनगढी र महेन्द्रनगरमा २०६८ सालमा आयोजित छैटौँ राष्ट्रिय खेलकुदमा पूर्वाञ्चलको टोली १ सय २५ पदकसहित सातौँ स्थानमा रहेको थियो। सो संस्करणमा पूर्वाञ्चलले ११ स्वर्ण, २७ रजत र ८७ कास्य पदकमा जित निकालेको थियो।

२०६५ साल चैत्रमा काठमाडौँमा सम्पन्न पाँचौँ राष्ट्रिय खेलकुदमा पूर्वाञ्चलको टोली ९३ पदकसहित पाँचौ स्थानमा रहन पुगेको थियो। जसमा १४ स्वर्ण, २५ रजत र ५४ कास्य पदक रहेको थियो।

२०५५ सालमा नेपालगञ्जमा सम्पन्न चौथो राष्ट्रिय खेलकुदमा भने पूर्वाञ्चलको टोली ७८ पदकसहित पाँचौ स्थानमा रहेको थियो। जसमा १२ स्वर्ण, २७ रजत र ३९ कास्य रहेको थियो। राष्ट्रिय खेलकुदअन्तर्गत पाँचौँबाट तत्कालीन विकास क्षेत्रका आधारमा सहभागिता हँदै आएको थियो।

पहिलो, दोस्रो र तेस्रो राष्ट्रिय खेलकुदमा अञ्चलस्तरीय सहभागिता अन्तर्गत सबै १४ अञ्चलले सहभागिता जनाएका थिए। वीरगञ्जमा २०४२ सालमा सम्पन्न तेस्रो संस्करणको राष्ट्रिय खेलकुदमा २१ खेलमा २ हजार ७ सय ७५ खेलाडीको सहभागिता रहेको थियो। जसमा २ हजार ३७ पुरुष र ७ सय ३८ जना पुरुष रहेका थिए।

२०४० सालमा पोखरामा सम्पन्न राष्ट्रिय खेलकुदको दोस्रो संस्करणमा २१ वटा खेलमा २ हजार ५ सय ७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। त्यसैगरि, २०३८ सालमा काठमाडौँमा पहिलो राष्ट्रिय खेलकुदका रुपमा १४ अञ्चलले सहभागिता जनाएका थिए। जुतिबेला १६ वटा खेलमा १ हजार ४ सय ४३ खेलाडीको सहभगिता रहेको थियो।

असोज ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्