सरकारसँग १० बुँदे सहमतिपछि डा. केसीले अनसन तोडे, यस्तो छ सहमति (पत्रसहित)

अनसन तोड्दै डा. गोविन्द केसी। तस्बिरः बर्षा शाह/देशसञ्चार।

काठमाडौँ – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी र सरकारबीच १० बुँदे सहमति भएको छ।

सरकारसँग सहमति भएसँगै डा. केसीले शनिबार बेलुका अनसन तोडेका छन्। डा. केसीले त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामी १३ वर्षीय अर्मान अन्सारीको हातबाट जुस पिएर अनसन तोडेका हुन्।

डा. केसी र सरकारबीचको सहमति अनुमोदनका लागि मन्त्रिपरिषद् बैठकमा पेश गर्ने समझदारी भएको छ।

डा. केसीले राखेका ७ बुँदे मागमध्ये धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने मागमा भने सहमति जुट्न सकेन। डा. केसीले उक्त मागका सम्बन्धनमा निरन्तर संघर्षमा रहने बताएका छन्।

१० केसीले १३ औँ दिनमा अनसन तोडेका हुन्। उनले भदौ २० गतेदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट २० औँ सत्याग्रह सुरु गरेका थिए।

सरकारले डा. केसीसँग वार्ता गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा स्वास्थ्य सचिव रोशन पोखरेल र शिक्षा सचिव रामकृष्ण सुवेदी सदस्य रहेको वार्ता टोली बनाएको थियो।

स्वास्थ्यमा समस्या भएपछि डा. केसीलाई सत्याग्रहको १० औँ दिनमा धनगढीबाट काठमाडौँ ल्याएर त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो।

सहमति कार्यान्वयन नभए फेरि सत्याग्रह सुरु गर्ने डा. केसीले चेतावनी दिएका छन्।

तस्बिरहरुः बर्षा शाह/देशसञ्चार।

असोज ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्