फुटबलरको पलायन, बाध्यता कि आकर्षण?

पछिल्लो समय नेपाली फुटबलका स्टार खेलाडीहरू निरन्तर विदेशिइरहेका छन्। पछिल्लो समय १ दर्जनभन्दा बढी खेलाडी अस्ट्रेलिया प्रस्थान गरिसकेका छन्। एन्फा स्रोत भन्छ- अब केही समयमा नै १५-२० जना खेलाडी पनि बाहिरिँदै छन्। यसमा राष्ट्रिय टिमबाट समेत खेलिसकेका  खेलाडीहरू पनि छन्। यस्तोमा एन्फा एकेडेमीबाटै करिअर सुरु गरेका खेलाडी पनि अहिले धमाधम अस्ट्रेलिया प्रस्थान गरिरहेका छन्।

उमेर समूहबाट प्रतिस्पर्धा गर्दागर्दै र करिअरको उम्दा बिन्दुमा नै देश छोडेर विदेशिने खेलाडीको बाध्यता हो कि आकर्षण?  एन्फा प्रवक्ता सुरेश साह यो समस्याका रूपमा देखा परेको बताउँछन्। उनी भन्छन्,  ‘एक-दुई जना खेलाडीको बाध्यता या घरायसी कारणले बाहिरिएको मान्‍न सकिएला तर जुन दरमा अहिले खेलाडी विदेशिएका छन्, यो अस्ट्रेलियाप्रतिको आकर्षण हो। जुन नेपाली फुटबलका लागि भने चिन्ताको विषय हो।’

उनले राज्यले लगानी गरेका खेलाडी विदेशिँदा स्वाभाविक रूपमा चिन्ता हुने बताए। उनले भने ‘अब राज्यले लगानी गरेका खेलाडीमा निश्चित समयका लागि कन्ट्र्याक गर्नुपर्ने अवस्था सिर्जना भएको छ। आगामी बैठकमा एन्फामा यो विषयले प्रवेश पाउने छ।’

खेलाडीहरूले आफ्नो क्षमता चिन्नुपर्छ

लामो समय फुटबललाई नजिकबाट नियालिरहेका फुटबल विश्लेषक सञ्जिव मिश्र पछिल्लो समय खेलाडी बाहिरिँदा बाध्यतामात्र कारण रहेको मान्दैनन्। उनी भन्छन् ‘जसरी अहिले खेलाडीहरू विदेशिने ट्रेन्ड नै देखिएको छ। यो बाध्यतामात्रै भन्दा पनि आकर्षण हो।’

स्वाभाविक रूपमा खेलाडी बाहिरिँदै गर्दा फुटबलसँग सरोकार राख्ने सबै पक्षलाई असर पर्ने उनकाे भनाइ छ। ‘अहिले राम्रो लयमा रहेको खेलाडीले दक्षिण एसियाली लिगमा नै सिजनमा करोडसम्म कमाउने अवस्था बनेको छ। पछिल्लो समय राम्रो भविष्य भएका खेलाडीहरू पनि अस्ट्रेलिया गइरहेको देख्दा उनीहरूले आफ्नो क्षमता नचिनेको हो कि भन्ने लागेको छ’, उनले भने।

मिश्रले २०-२१ वर्षकै उमेरमा खेलाडी बाहिरिँदा दुखद लागेकाे बताए। उनी भन्छन्, ‘२०- २१ वर्षका खेलाडी बाहिरिँदा स्वाभाविक रूपमा नराम्रो लाग्छ। उनीहरूसँग राम्रो गर्ने समय थियो,  फुटबलमा नेपालमा अन्य खेलको तुलनामा बाँच्नै नसक्ने अवस्था पनि थिएन। केही वर्ष खेलेर आफ्नो प्रतिभालाई परिष्कृत गर्ने र निखार्ने अवसर खेलाडीमा थियो।’

मिश्रले अस्ट्रेलियामा गएर खेलेर आफूलाई प्रमाणित गरे त्यो गर्व गर्न लायक क्षण हुने बताए। ‘यहाँबाट अधिकांस खेलाडी अस्ट्रेलियाको स्थानीय क्बलहरूको समन्वयमा जाने गरेका छन्। यदि कुनै खेलाडीले स्थानीय क्लब हुँदै प्रोफेसनल रूपमा राम्रो क्लबमा अनुबन्धन भएर प्रमाणित गरेको खण्डमा त्यो गर्व गर्ने क्षणका रूपमा रहन्छ।’

एन्फा एकेडेमीकै उत्पादन टिकेनन्

खेलाडी बाहिरिने सूचीमा एन्फा एकेडेमीका खेलाडीहरूको बाहुल्यता छ। जबकि एन्फा एकेडेमीले एउटा खेलाडी तयार गर्न १५ देखि २० लाखसम्म लगानी गरेको हुन्छ। होस्टलदेखि पढाइ र फुटबल सबै खर्च गरेर खेलाडी उत्पादन गर्ने गरेको एकेडेमीकै खेलाडी अहिले आफ्नो फुटबल करिअर दाउमा लगाउँदै विदेशिएका छन्।

हेमन्त थापा मगर, सुमन लामा, दर्शन गुरुङ,  हेमन गुरूङ, एलन न्यौपाने,  सुलभ मास्केलगायतका खेलाडी एन्फा एकेडेमीका उत्पादन हुन्। उनीहरू ए डिभिजन क्बहरूमा नियमित प्लेइङ लिस्टमा पर्ने खेलाडी हुन्। साथै राजन गुरूङ, मिक्छेन तामाङ, रुमेश बर्तौला, रवि थिङ र अमिर श्रेष्ठ, विमल राना, आशिष लामा,  सन्तोष तामाङ, नवीन गुरूङ, विमल बस्नेतलगायतका खेलाडीहरू पनि आफूलाई राम्रोसँगले स्थापित गरेका खेलाडीमा पर्छन्।

अस्ट्रेलियन क्लब रोयल वेस्टर्न खेलाडीलाई अस्ट्रेलियामा स्वागत गर्दै : तस्बिर: क्लब रोयल वेस्टन्स क्लबको फेसबुक पेजबाट।

किन बाहिरिँदैछन् खेलाडी?

पछिल्लो समय अस्ट्रेलियाका स्थानीय क्लबको स्पोन्सरमा खेलाडीहरू बाहिरिरहेका छन्। यस्तोमा खेलाडीले चाँडो आफ्नो करिअर सोच्ने गरेकाले खेलाडी धेरै मात्रामा बाहिरिएको मान्छन्- पूर्वखेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्य।

‘पहिला खेलाडीमा प्यासन थियो,  एउटा समयसम्म खेलाडीहरू देशका लागि र फुटबलका लागि आफूलाई जस्तोसुकै अवस्थामा पनि खेलेर प्रमाणित गर्थे। अहिले समय फेरियाे, खेलाडीले खेलसँगै लाइफ स्टाइललाई महत्त्वपूर्ण मान्छन्। त्यसक लागि चाँडो कमाउने इच्छा बढेको छ। जसको पूर्तिका लागि खेलाडी बाहिरिरहेका छन्’, उनी भन्छन्।

त्यसो त शाक्य खेलाडी विदेशिनुमा खेलाडीमात्र कारण मान्न भने तयार छैनन्। उनी भन्छन्  ‘अहिले समय र देशको अवस्थालाई पनि अर्को कारण मान्नुपर्छ। समग्र युवाशक्ति बाहिरिरहेको छ, केही कुरामा स्थायित्व नहुँदा आफ्नो भविष्य सेक्युर गर्नका लागि समग्र युवा बाहिरिँदा खेल क्षेत्र पनि त्योभन्दा अछुतो रहने कुरो भएन।’

शाक्यजस्तै मत विश्लेषक मिश्रको पनि छ। उनी भन्छन्, ‘चाँडो खेलाडीले करिअर सोच्न थाले जसले गर्दा उनीहरू केही अवसर देख्नेबित्तिकै सारा फुटबल करिअरसमेत दाउमा राखेर विदेशिन तयार भएका छन्।’

अस्ट्रेलियाका कस्ता क्लबमा जान्छन् खेलाडी?

नेपालको राष्ट्रिय टिम तथा शीर्ष डिभिजन खेलिरहेका खेलाडी अस्ट्रेलियाका स्थानीय क्लबहरूमा जाने गरेका छन्। एन्फा स्रोत भन्छ, ‘त्यहाँका स्थानीय क्लबहरूले उनीहरूलाई सेटलका लागि स्पोन्सर मात्र गर्ने हो। परेको बेलामा खेल्ने नत्र अन्य काम नै गर्नका लागि जाने हो। केही क्लबहरू केही नेपाली मिलेर खोलेका छन्। त्यहाँ उनीहरू बिना पारिश्रमिक खेल्ने र अस्ट्रेलियामा सधैँका लागि बस्नका लागि भिसा चेज गर्ने गरेका छन्। त्यसका लागि उनीहरूले त्यहाँ फुटबलभन्दा पनि करिअर सेटलका लागि नै मिहिनेत गर्ने गरेका छन्।’

क्लबहरूलाई झनै मुस्किल पर्ने छ

ठुलाेमात्रामा फुटबल खेलाडी बाहिरिँदै गर्दा समग्र देशलाई नै असर पर्ने मच्छिन्द्र क्लबका म्यानेजर अनिल श्रेष्ठ बताउँछन्। उनी भन्छन्,  ‘खेलाडीको पलायनले समग्र देशलाई नै असर गर्ने हो। क्लबलाई त झनै मुस्किल पर्छ। एक त राम्रा खेलाडीहरू पाउन मुस्किल छ, त्यसमा पनि केही राम्रो गर्ने आस गरेका खेलाडी बाहिरिँदा स्वाभाविक रूपमा गाह्रो हुन्छ नै।’

मच्छिन्द्रका पूर्वअध्यक्ष प्रवोधवीर सिंह कंसकार पनि अब एन्फाले सोच्न ढिला गर्न नहुने बताउँछन्। उनी भन्छन्, ‘हाम्रा लागि भन्दा पनि समग्र नेपाली फुटबलका लागि नै भविष्यमा समस्या पर्न सक्छ, त्यसैले खेलाडी पलायन रोक्न एन्फाले याेजना बनाउनु पर्छ।’

मनाङका पूर्वअध्यक्ष मुखिया गुरुङ एन्फाले नियमित रूपमा फुटबलको क्यालेन्डर बनाएर प्रतियोगिता नगरेसम्म समस्या लम्बिरहने बताउँछन्। गुरुङ भन्छन्, ‘हामीले ठुलो लगानीमा क्लबहरू सञ्चालन गरेका हुन्छौँ अनि प्रतियोगिता अनिश्चित हुँदा खेलाडी पलायन हुनु स्वाभाविक मान्नुपर्छ। तर यसको मार भने क्लबले नै खेप्नु पर्छ।’

 

असोज ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्