१९ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

जनकपुरधाम – धनुषाको सीमा क्षेत्रबाट साढे १९ लाख रुपैयाँ बराबरको चाँदीसहित एक जना पक्राउ परेका छन्।

धनुषाको जटही नाका हुँदै भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले भारत बिहारको मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झालाई पक्राउ गरेको हो।

जटही नाका भएर साइकलमा सवार भइ शरिरमै चाँदीको पोकाहरु बाँधेर ल्याउँदै गर्दा चेकजाँचको क्रममा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले बरामद गरेको १९ केजी ४१७ ग्राम चाँदीको बजार मूल्य १९ लाख ६४ हजार ३ सय ४० नेपाली रुपैयाँ रहेको बताइएको छ।

पक्राउ परेका झाको साथबाट एक थान साइकल, मोबाइल र घडीसमेत बरामद गरिएको छ। आवश्यक कारबाहीका लागि चाँदी र पक्राउ परेका व्यक्तिलाई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

असोज ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्