दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब

काठमाडौँ – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना (साउन र भदौ)मा नेपालको आयात र निर्यात दुवै घटेको छ। सो समयमा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रुपैयाँ पुगेको छ।

भन्सार विभागले आज जारी गरेको तथ्याङ्कअनुसार गत साउन र भदौ महिनामा नेपालको कुल वैदेशिक व्यापार ३ खर्ब २ अर्ब २८ करोड ८९ हजार रुपैयाँ रहेको छ।

विभागका अनुसार उक्त समयमा नेपालले २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँको वस्तु आयात गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको आयात १३.०१ प्रतिशतले घटेको छ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा नेपालले ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजार रुपैयाँको वस्तु आयात गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँको वस्तु विभिन्न देशमा निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको निर्यात ३४.८८ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो।

पछिल्लो दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा ९.४५ प्रतिशतले घटेको विभागले जनाएको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा नेपालको कुल वैदेशिक व्यापार घाटा २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजार रुपैयाँ रहेको थियो।

अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नेपालको कुल वैदैशिक व्यापार १५.७० प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको सुरुवाती दुई महिनामा नेपालको कुल वैदेशिक व्यापार ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँ रहेको छ।

असोज ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्