देउवालाई गुरु घिमिरेको चेतावनी– ‘मागेजति सिट नपाए अन्तर्घात हुन्छ’ (भिडियो)

काठमाडौँ– अन्ततः नेपाली कांग्रेसका नेता शेखर कोइराला पार्टीभित्र विद्रोह गर्ने मनस्थितिमा पुगेका छन्।

१४ औँ महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले पेलेर पार्टी सञ्चालन गरेको भन्दै फरक स्वर राख्न सुरु गरेको यो समूहको असन्तुष्टि आमनिर्वाचन नजिकिँदै गर्दा चरम उत्कर्षमा पुगेको छ। असोज पहिलो साता पार्टीको तर्फबाट निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सांसदको बन्द सूचीमा आफ्नो समूहका नेताको नाम कम प्राथमिकतामा राखेको भन्दै शेखर समूह रुष्ट छ।

आम निर्वाचनमा रुख बाहेकको चिन्हमा भोट नहाल्ने चेतावनी दिँदै आएको छ शेखर समूहले।

सत्ता गठबन्धनमा कांग्रेसलाई प्राप्त सिटमध्ये शेखर समूहले ४० प्रतिशत दाबी गर्दै गर्दा संस्थापन समूहले भने शेखर समूहलाई १८ प्रतिशतमा खुम्च्याउन खोजेको छ।

सिटको लडाइँले शेखर समूहले छुट्टै दल जस्तो गरी राजनीतिक गतिविधि देखाएको छ।

नेता शेखर कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी सहकार्य गर्ने सहमति बाहिरिएको छ।

शेखर समूहको पार्टीभित्रको हैसियत,देउवाविरुद्ध गर्ने विद्रोहको स्वरुप, विद्रोहले पार्टी र सत्ता गठबन्धनमा पार्ने असर,शेखर समूहले आफ्नै पार्टीमा नपाएको स्थान एमालेसँग पाउने आधार र कारण लगायत बिषयबस्तुमा केन्द्रित भएर नेता शेखर कोइराला निकट मानिने नेता गुरुराज घिमिरेसँग देशसञ्चारकी ईश्वरी बरालले गरेको कुराकानीको सम्पादित अंश।

संस्थापन पक्षले तपाईँहरु ४० प्रतिशत माग दाबीको लागि योग्य हुनुहुन्न भन्छ, तपाईँहरुले आफ्नो हैसियत बिर्सिएर किन सिट माग्दै हुनुहुन्छ?
हामीलाई योग्यताको प्रमाणपत्र दिने अधिकार संस्थापन पक्षलाई छैन। योग्यताको प्रमाणपत्र जनताले मत हालेर दिइसकेका छन्। ४० प्रतिशतले मत हालेर प्रमाणपत्र कार्यकर्ताले दिएका छन्। पार्टीका साथीहरुले दिएका छन्। संस्थापन पक्षले हाम्रो हैसियत मापन गर्ने भन्दा पनि जनताले गरेका छन्।

पार्टीको १४ औँ महाधिवेशनबाट शेखर समूहका केन्द्रीय सदस्यहरु १८ प्रतिशत मात्रै निर्वाचित भएको भन्दै सभापति देउवा आम निर्वाचनमा पनि यही आसपास सिट मात्रै दिने मनस्थितिमा हुनुहुन्छ, मागेजति सिट नपाए कस्तो खालको विद्रोह गर्ने तयारी छ तपाईँहरुको?
परिणामले कति सदस्य जितायो, कतिलाई पदाधिकारी बनायो त्यो फरक बिषय हो। मत कति आयो भनेर मापन गर्ने आधार भनेको हामीलाई प्राप्त भएको मत हो। महाधिवेशनका सदस्यहरुको मतमध्ये ४० प्रतिशत भन्दा बढी मत प्राप्त गरेका छौँ। मानक भनेको महाधिवेशन सदस्यहरुको मत हो। केन्द्रीय सदस्यमा कति निर्वाचित भए भन्नेले अर्थ राख्दैन। हामी पार्टीभित्र विभिन्न चरणको विद्रोहको तयारीमा छौँ। दबाब दिन्छौँ तर बिद्रोह नै चाहिँ भनेका छैनौँ। अहिले विनम्रताकै चरणमै छौँ। माग सुन्ने काम भएन भने विद्रोह गर्छौँ।

नेता कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी तालमेल गर्ने तयारी गर्नुभएको छ, शेखर समूहले आफ्नै पार्टी भित्र नपाएको स्थान एमालेभित्र पाउला?
सत्ता गठबन्धनमा भएका राजनीतिक दलहरुसँग पनि सिद्धान्त नमिलेरै गठबन्धन भइरहेको छ। ओली त प्रमुख प्रतिपक्षी दलको नेता हुनुहुन्छ। ओलीलाई नेता कोइरालाले प्रमुख प्रतिपक्षी दलको नेता तथा पूर्व प्रधानमन्त्रीको हैसियतले भेट्नुभएको हो। जहाँसम्म एमालेसँगको चुनावी तालमेलको कुरा छ, त्यो पर्दाभित्रको कुरा अनुमानको भरमा सार्वजनिक भएका खबरहरु हुन्। नेता कोइराला मेरो पनि राम्रो पहुँच भएको नेता हुनुहुन्छ। उहाँले खालि देशको परिस्थितिबारे छलफल गर्न भेट्नुभएको हो। दुई नेताहरुले कांग्रेस, एमाले र राष्ट्रिय राजनीतिबारे चासो राख्नुभएको होला। शिष्टाचार भेटघाट भएको सत्य हो, तर चुनावी तालमेलमा सहमति भएको भन्नु निराधार हो।

महाधिवेशनपछि शेखर समूहले छुट्टै पार्टीजस्तो गरेर निरन्तर भेला गरेको छ, यसले पार्टीको साख गिराउनेदेखि सत्ता गठबन्धनका अन्य दलले कांग्रेसलाई विश्वास गर्ने आधार कम भएको छ। तपाईँहरुलाई पार्टीको भन्दा सिटको चिन्ता धेरै भएजस्तो देखियो नि?
यसको जिम्मा पार्टीको मूल नेतृत्वले लिनुपर्छ। पार्टीभित्रको आन्तरिक एकतालाई कसरी बलियो बनाउने,सबै साथीहरुको चित्त कसरी बुझाउने,पार्टीभित्रका सबै साथीहरुलाई कसरी समान रुपमा अवसर दिलाउने भन्ने कुराहरु सुनिश्चित भयो भने असन्तुष्टि आउँदैनन्।

पार्टीभित्र तपाईँहरुले नै बखेडा झिक्नुभएको हैन र?
यस्तो हैन, शेखर कोइराला जस्तो शालिन पार्टीभित्रको सजिलो मित्र कहाँ पाइन्छ? नेता कोइरालाले पार्टी भित्र गर्नुभएको योगदान, उहाँको योग्यता, लोकप्रियताको मूल्याङ्कन हुनुपर्छ। पार्टीको आन्तरिक एकता सुदृढ नबनाईकन तालमेल गरेर सोचेजति राम्रो परिणाम आउदैन। पहिलो सर्त भनेको पार्टीको आन्तरिक एकतालाई कायम राख्नुपर्छ। सुझाव दिने व्यक्ति शत्रु होइन, हामी त देउवाको सबैभन्दा ठूलो सहयोगी हौँ।

समानुपातिकको बन्द सूचीमा आफ्नो समूहका नेताहरुको नाम परेन भनेर पनि नेतृत्वसँग असन्तुष्टि जनाउनुभएको छ? पार्टीका सबै गुट र क्लस्टरअनुसार सूची बनाउँदा त सबै समेट्नुपर्ने होला नि त? तपाईँहरुको समूहको मात्रै नेतालाई बन्द सूचीमा राखिदिए चित्त बुझ्ने हो?
समानुपातिकको बन्द सूचीमा हाम्रा समूहको नेताको नाम पछाडितिर अलिअलि झुन्ड्याएको छ,त्यो हामीलाई चाहिँदैन। न्यायोचित र सम्मानजनक स्थान नदिने हो भने सबै संस्थापन समूहले लिए हुन्छ।

आम निर्वाचनमा कस्तो विद्रोह गर्नुहुन्छ त त्यसो भए?
हामी रुख चिन्ह हेरेर मात्रै भोट दिन्छौँ।

चुनावी तालमेल हुँदा त रुख चिन्ह मात्रै हुँदैन नि?ओलीलाई सहयोग गर्ने हो?
हामी देशैभर रुख चिन्ह लिएको उठेको उम्मेदवारलाई मात्रै भोट दिन्छौँ। ओलीलाई सहयोग गर्ने निराधार हो।

असोज ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्