सत्ता गठबन्धनमा आजदेखि प्रदेशसभा सिट बाँडफाँटको छलफल सुरु

काठमाडौँ – सत्ता गठबन्धनका दलहरुले आजदेखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थालेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सत्ता गठबन्धन कार्यदलको बैठक जारी छ। एक घण्टादेखि जारी कार्यदलको बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै प्रदेशसभाबारे छलफल सुरु भएको बैठकमा सहभागी एक नेताले बताए।

गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो।

नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला नेतृत्वको कार्यदलले छलफल गरेर संघतर्फको सिट बाँडफाँटको अधुरो प्रतिवेदन गठबन्धन नेतृत्वलाई बुझाएको थियो।

त्यसयता कार्यदलस्तरमा र शीर्ष नेतृत्व तहमा सिट बाँडफाँटबारे छलफल हुँदै आए पनि सहमति नै भने जुटिसकेको छैन।

निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति तोकेकाले दलहरु छिटो सिट बाँडफाँट टुंगो लगाउनुपर्ने दबाबमा छन्।

असोज ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्