प्रदेश १ का स्वास्थ्यमन्त्री यादवले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

मोरङ – मुलुकमा संघीयताको आभाष दिलाउने उद्देश्यसहित प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले कार्यकक्षमा फेरबदल गरेका छन्।

आइतबार नियमित कार्यका क्रममा मन्त्री यादवले आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर हटाएका छन्।

संघीयताको मर्मअनुरूप चल्न सक्नुपर्नेमा जोड दिएका मन्त्री यादवले अझै पनि केन्द्रीकृत मानसिकताबाट बाहिरन नसकेको अवस्थामा सुरुआत आफ्नै कार्यकक्षबाट गरिएको जानकारी दिए।

उनले यसबारे आफूलाई आजैबाट ज्ञात भएको र कार्यकक्षमा राखिएको पुरानो तस्बिर हटाएर प्रदेश १ का प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्बिर राखिएको बताए।

यसक्रममा उनले संघीयता लोकतान्त्रिक गणतन्त्र जिन्दाबादसहित सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति जाहेर गरेका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर माननीय प्रदेश प्रमुख पर्शुराम खापुङज्यू र माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईज्यूको तस्विर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो। पहिचानसहितको संघीयता अभिवादन।’

असोज ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्