टोल टोलमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै चौतारा साँगाचोकगढी नगरपालिका

सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिकाले ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण’ सुरु गरेको छ।

ज्येष्ठ नागरिकको सम्मानस्वरूप समुदायमै गएर बालबालिकाको खोप क्लिनिक जस्तै नियमित रुपमा जेष्ठ नागरिक क्लिनिक मार्फत स्वास्थ्य परीक्षण गर्ने नगरपालिकाको योजना छ।

आइतबार नगरको वडा नम्बर १३ नर्सिङडाडामा एक कार्यक्रमका बीच नगर प्रमुख  कृष्णप्रसाद सापकोटाले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै  ‘ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण’ सुभारम्भ गरिएको हो। चौतारा साँगाचोकगढी नगरपालिकाको १४ वटै वडाका हरेक टोलमा पुगेर ज्येष्ठ नागरिक स्वास्थ्य क्लिनिक संचालन गरिने सापकोटाले बताए।

ज्येष्ठ नागरिकको उपचारमा समस्या भएपछि टोल टोलमै गएर स्वास्थ्य परीक्षण 

अहिले एकल भएका र घरमा बुढाबुढी मात्र भएका ज्येष्ठ नागरिकमा धेरै स्वास्थ्य समस्या देखिएकोले समुदायमै गएर जेष्ठ नागरिक क्लिनिक मार्फत स्वास्थ्य परीक्षण गरेको  नगरपालिकाले जनाएको छ। स्थानिय ज्येष्ठ नागरिक  कालिका दुलाल भन्छिन्,‘ आफ्नै गाउँमा उपचार र स्वास्थ्य परीक्षण गर्दा दैलोमै सरकारको अनुभूति भएको छ। ’ आफन्तको बेवास्ताका कारण ज्येष्ठ नागरिक एक्लिँदा उनीहरूको स्वास्थ्यमा विभिन्न समस्या देखिरहेको स्वास्थ्यकर्मीको भनाइ छ । अधिकांश ज्येष्ठ नागरिकमा दम, उच्च रक्तचाप, मधुमेह, बाथलगायत स्वास्थ्य समस्या देखिएका छन्।

पहिलो चरणमा प्रत्येक वडामा शिविर मार्फत जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै रोग र समस्या पहिचान समेत हुने भएको छ। सामान्य स्वास्थ्य समस्या भएकाहरुलाई निःशुल्क औषधी दिइने र स्वास्थ्य समस्या जटिलउन्मुख भए आवश्यकताअनुसार अस्पताल पठाइने नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत दिनेश नेपालले बताए।  नगरभित्र हरेक वडामा रहेका हेल्थ पोस्टमा कार्यरत हेल्थ असिस्टेन्ट, सिनियर अहेब, अहेब र अनमी मध्येबाट  नियमित औपचारीक तालिका बनाएर सबै वडाका हरेक टोलमा ज्येष्ठ नागरिकको परीक्षण गर्न पुग्नेछन्।

ज्येष्ठ नागरिकका लागी नगरपालिकाको नीति,कार्यक्रममा २५ लाख रकम विनियोजन

यो कार्यक्रमले जेष्ठ नागरिकको समस्या एकिन हुने र आगामी वर्ष प्रभावकारी कार्यक्रम बनाउन थप सहयोग पुग्ने उपप्रमुख सिता थापाको भनाई छ। ज्येष्ठ नागरिकले उपचारका लागि सास्ती भोग्न थालेपछि टोल टोलमै गएर स्वास्थ्य परीक्षण गर्न नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गर्दै २५ लाख रकम विनियोजन गरेको छ।

अहिले शिविरमा कारणबस आउन नसकेका जेष्ठ नागरिकको तथ्याङ्क पंजीकरण शाखाबाट लिएर घरघरमा पुग्ने र उनिहरुको समस्या पहिचान गर्ने चौतारा साँगाचोकगढी नगरपालिकाले जनाएको छ।

असोज ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्