अवकाशप्राप्त सहायक रथी डा. केशरबहादुर भण्डारीसँगको अन्तर्वार्ता

‘नेपाललाई भूराजनीतिको मैदान नबनाऔँ’ (भिडियोसहित)

काठमाडौँ – अवकाशप्राप्त सहायक रथी डा. केशरबहादुर भण्डारीले राष्ट्रिय सुरक्षा नीति र चुनौतीसम्बन्धी पुस्तक तयार पारेका छन्। भण्डारीले आफ्नो ‘National Security and the state A focus on Nepal’ नामक पुस्तकमा राष्ट्रिय सुरक्षा नीति र यसका चुनौतीको बिषयबस्तुलाई केन्द्रमा राखेर लेखेका छन्।

पुस्तक विमोचनको संघारमा लेखक डा.भण्डारीसँग देश सञ्चारका लागि ईश्वरी बरालले गरेको भिडियो अन्तर्वार्ताः

राष्ट्रिय सुरक्षा बलियो बनाउन खुला सीमाहरु बन्द गर्नुपर्छ?

नेपाल र भारतबीचको हालको सीमानालाई खुला भनिए पनि त्यो अनियन्त्रित सीमाना हो। अनियन्त्रित सीमाको कारण असुरक्षा बढेको छ। सीमा, राष्ट्रिय सुरक्षाको नीति एउटा सानो अंश मात्रै हो।

राष्ट्रिय सुरक्षा नीति भनेको बृहत् सुरक्षा नीति हो। राष्ट्रिय सुरक्षासँग अर्थ, कूटनीति, राजनीति, जनसंख्या, हक, हित,अस्तित्व, स्वार्थ, चासो सबै कुराहरु जोडिएको हुन्छ। राष्ट्रिय सुरक्षामा राजनीतिक सुरक्षा सबैभन्दा महत्वपूर्ण छ।

राष्ट्रिय सुरक्षा नीति बनाउँदा नेपाल शक्ति राष्ट्रहरुको छायाँमा परेको हो?

शक्ति राष्ट्रले आफ्नो प्रभाव देखाउन खोज्नु प्राकृतिक नियम नै हो। सम्पन्न राष्ट्रले कमजोरलाई प्रभावमा पार्न खोज्नु पनि सामान्य नै हो।

बलिया देशहरुले विश्वलाई नै प्रभावमा पार्न खोज्छन्। यस्तोमा सानो राष्ट्र कसरी जोगिने? त्यो सानो राष्ट्रको चुनौती हो। राज्य व्यवस्था सञ्चालनको क्षमता भनेको पनि यसलाई मिलाउन जान्नु हो।

यस्तोमा जोगिँदाखेरि कुनै छिमेकीको पनि पक्ष–विपक्षमा उभिन मिल्दैन। नेपालले चीन र भारत दुवै राष्ट्रसँग सन्तुलित सम्बन्ध बनाउन सक्नुपर्छ। यसको सन्तुलन राज्य सञ्चालकले मिलाउनु पर्छ।

दुई छिमेकी देश चीन र भारत तथा अन्य शक्ति राष्ट्रसँग नेपालले प्रष्टसँग आफ्नो मुलुकको एजेन्डा राख्नै सक्दैन, यसमा हाम्रै कमजोरी हो कि?

नेपालले भारत, चीन, अमेरिकालगायत राष्ट्रसँग प्रष्टसँग आफ्ना मुलुकका बिषयबस्तु भन्न नसक्नु हाम्रै कमजोरी हो।

नेपाललाई अनुकूल हुने गरी, राष्ट्रिय चासोका विषयअनुसार नेपालले कुरै गर्न सक्दैन। सरकार सञ्चालन गरिरहेको राजनीतिक दलले सत्ता टिकाउन जे पनि सम्झौता र सहमति गर्दै आएका छन्। यसले ठूलो राष्ट्रिय घात भइरहेको छ।

राष्ट्रको नेतृत्वकर्ताले विज्ञ राखेर छलफल गर्ने संस्कारको विकास हुन सकेन। नेताहरुले मनपरि सम्झौता र सहमति गरेका छन्। राष्ट्रिय सुरक्षा नीतिको सबैभन्दा ठूलो सुरक्षा भनेको राजनीतिक सुरक्षा हो। राजनीतिक संस्कार सुध्रनु जरुरी छ।

राजनीतिक सुरक्षा भनेको संविधान हो। संविधानपछि हामीकहाँ स्थापित मूल्य मान्यताहरु हुन्। यिनको पालना र कार्यन्वयनमा दलहरु चुक्नु हुँदैन। यसलाई जगेर्ना गर्नुको साथै हुबहु पालना गर्नु राजनीतिक सुरक्षा हो।

संविधानपछि मुलुकको दोस्रो महत्वपूर्ण राष्ट्रिय दस्तावेज भनेको राष्ट्रिय नीति हो। यसको निर्माण र कार्यन्वयनमा दलहरु चुकेका छन्। राजनीतिमा एक जना व्यक्तिको स्वार्थको लागि राष्ट्रिय सुरक्षा नै गायब गर्ने काम भइरहेको छ। चीन भारत र अमेरिकालाई हामीले नेपालमा खेल्न दिनु हुँदैन।

दलहरुको कुरा गर्नुभयो तर राष्ट्रिय सुरक्षा त नेपाली सेनाको जिम्मामा मात्रै छ जस्तो व्यवहार हुन्छ नि?

सुरक्षाको विषय उठ्नेबित्तिकै नेपाली सेनाको मात्रै जिम्मेवारी जसरी हेरिन्छ तर नेपाली सेनाको भूमिका १५ देखि २० प्रतिशतसम्म मात्रै हुन्छ।

राष्ट्रिय सुरक्षा नीतिका अन्य चिजहरु ८० प्रतिशत त अन्य चिजहरु पर्छन्। राष्ट्रिय सुरक्षा नीतिले नसमेट्ने कुनै विषय छैन। थाहा नभएर हुन सक्छ, सेना र पुलिसलाई मात्रै राष्ट्रय सुरक्षाको जिम्मेवारी भएकोजस्तो गरिन्छ।

तपाईं सैनिक नेतृत्वको निर्णयबारे खास गरी २०६३ वैशाखमा भारतका तत्कालीन विदेश सचिव श्याम शरणसँग भएका कुराकानीको सन्दर्भमा आलोचक देखिनुहुन्छ किन?

भारतका तत्कालीन प्रधानसेनापतिलाई विदेश सचिव श्याम शरणले प्रभावमा पारेर नेपालमा परिचालन गराउन खोजिएको सेनालाई रोकेका थिए।

नेपालमा सेना परिचालन गर्न भारतले रोकेको दाबी भारतले नै गरेको थियो। नेपालमा सेना परिचालन गरेर नेपालीलाई मार्ने भन्ने इच्छा राजाको पनि थिएन, जनताको पनि थिएन। राजाले पनि परिचालन गर्न खोजेका थिएनन् भने सेना पनि परिचालित हुन खोजेका थिएनन्। सेनाले चाहेको भए राजा पनि जाँदैनथे। त्यतिबेलाको घटनामा सेनाले पनि भनेको छैन कि हामी कसैको प्रभावमा परेर परिचालित हुने हैनौँ। आफै आफ्नै निर्णयमा परिचालित नभएको हौँ भनेर सेनाले भनेको अझैसम्म पनि आधिकारिक रुपमा आउन सकेन।

डा. केशरबहादुर भण्डारीको विस्तृत भिडियो अन्तर्वार्ता :

असोज १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्