रुसमा सेनामा भर्ती सम्बन्धी नयाँ प्रक्रिया र युक्रेन युद्धविरुद्ध प्रदर्शन, दुई हजार भन्दा बढी प्रदर्शनकारी पक्राउ

रुसको दागेस्ताना क्षेत्रमा युद्धमा तैनाथ गर्नका लागि सुरक्षा सेवामा स्थानीय युवाको भर्ती प्रक्रियाविरुद्ध प्रदर्शन भएको छ । युक्रेनमा युद्ध गरिरहेको रुसले नयाँ नियम लागु गर्दै स्थानीय युवाको भर्ती सुरु गरेपछि प्रदर्शन भएको हो ।

रुसमा मानवअधिकारको अनुगमन गर्दै आएको स्वतन्त्र संस्था ओभिडी–इन्फोका अनुसार एक सयजना दागेस्तान क्षेत्रको राजधानी मखाचकालाबाट पक्राउ परेका छन् । सो क्षेत्रमा सुरक्षाकर्मी प्रदर्शनकारीमाथि कडा रुपमा प्रस्तुत भएको ओभिडीले जनाएको छ ।
दागेस्तान मुख्यरुपमा मुस्लिमको बसोबास भएको क्षेत्र हो र विगतमा यो क्षेत्र अपराधका घटनाका लागि चर्चित थियो ।

रुसका अरु प्रमुख शहरमा पनि ठूला प्रदर्शन भएका छन् । शनिबार प्रहरीले सात सयजना भन्दा बढीलाई नियन्त्रणमा लिएका छन् ।

अधिकांश क्षेत्रमा आक्रोशित महिलाहरुले भर्ती केन्द्रहरु घेराउ गरेर प्रदर्शन गरेका छन् । उनीहरुले युक्रेनमा जारी युद्धको विरोध गरेका छन् ।
दागेस्तानबाट युक्रेन युद्धमा खटिएका मध्ये कम्तीमा ३०१ जना सैनिकको मृत्यु भइसकेको छ । यो आँकडा मस्कोको भन्दा दश गुणा बढी हो । वास्तविक अंक त्यो भन्दा माथि हुन सक्ने जनाइएको छ ।

गएको बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेनामा भर्ती सम्बन्धी नयाँ नियमको घोषणा गरेसँगै प्रदर्शन चर्किएको छ । त्यसयता हालसम्म दुई हजार भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।

असोज १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्