रोमाञ्चक खेलमा इंग्ल्यान्डविरुद्ध पाकिस्तानको जित

इंग्ल्यान्ड र पाकिस्तानबीच जारी ७ खेलको टी-२० सिरिज २-२ को अवस्थामा पुगेको छ। आइतबार राति कराँचीमा भएको रोमाञ्चक खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई ३ रनले पराजित गर्दे सिरिज बराबरीमा ल्याएको हो।

टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले ओपनर मोहम्मद रिजवान तथा बलर हरिस रउफको सानदार प्रदर्शनमा जित हात पार्‍याे।

पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो। उसका लागि रिजवानले ६७ बलमा ८८ रन बनाउँदा बाबर अजामले २८ बलमा ३६ रन तथा सन मसुदले १९ बलमा २१ रन बनाएका थिए।

त्यस्तै, असिफ अलीले ३ बलमा १३ रनको अविजित इनिङ खेलेका थिए। इंग्ल्यान्डका रेस टोप्लीले २ विकेट लिएका थिए।

१ सय ६७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड अन्तिम ४ बल बाँकी हुँदै १ सय ६३ रनमा समेटिँदा पाकिस्तानले रोमाञ्चक जित हात पार्‍‍याे। खराब सुरुवात गरेको इंग्ल्यान्डलाई मध्यक्रमले सम्हाल्दै जित नजिक पुर्‍याए पनि पछिल्लो क्रममा लगातार विकेट पतन हुँदा पराजित हुन पुग्यो।

१४ रनको अवस्थामा तीन विकेट गुमाएको इंग्ल्यान्डलाई बेन डकेटले ३३ रन तथा ह्यारी ब्रुक्स र लियम ड्वासनले समान ३४ र कप्तान मोइन अलीले २९ रन बनाउँदै सम्हालेका थिए।

तर, अन्तिम समयमा ओली स्टोन हरि रउफद्वारा शून्य रनमा आउट हुँदा अन्तिम विकेटका रूपमा रेसी टोप्ली सन मसुदद्वारा रनआउट हुन पुग्दा पाकिस्तानले जित हासिल गरेको थियो।

पाकिस्तानका लागि मोहमद नवाज र हरिस रउफले समान ३-३ विकेट लिँदा मोहम्मद हसनइले २ र मोहमद वासिमले १ विकेट लिएका थिए।

असोज १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्