जब लण्डनमा पाकिस्तानीमन्त्री मरियमलाई मानिसले घेरे…

पाकिस्तानकी सूचनामन्त्री मरियम औरंगजेबलाई लण्डनको एउटा कफीसपमा केही मानिसले घेरेका छन्।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा लण्डनमा बस्ने पाकिस्तानी नागरिकले मन्त्रीविरुद्ध नारा लगाएको देख्न सकिन्छ। यति मात्र होइन, कतिपयले मरियम औरंगजेबलाई ‘चोर्नी’ भनेर पनि सम्बोधन गरेका छन्।

मरियम औरंगजेबलाई घेरेर बसेका मानिसहरूले आफ्नो देश बाढीको चपेटामा परेको बेला आफ्ना नेताहरू जनताको पैसामा विदेश घुमिरहेका बताएका छन्।

भिडियोमा देख्न सकिन्छ- जब मानिसहरू उनको वरिपरि घेरा बनाएर उनको बारेमा टिप्पणी गरिरहेका थिए, तब मरियम औरंगजेबले कुनै प्रतिक्रिया दिइनन्। उनी आफ्नै मोबाइलमा व्यस्त थिइन्।

पाकिस्तानी पत्रकार सैयद तलत हुसैनले ट्वीटरमा घटनाको भिडियो पोस्ट गरेका छन्। जसकाे जवाफमा औरंगबेबले ट्वीट गर्दै भनेकी छन्, ‘इमरान खानको घृणा र विभाजनको राजनीतिले हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूमा पारेको विषाक्त प्रभाव देखेर दुखी छ। मैले राेकिएर उनीहरूका प्रत्येक प्रश्नको जवाफ दिएँ। दुर्भाग्यवश, तिनीहरू इमरान खानकाे प्रचारको शिकार भएका छन्। हामी इमरान खानको विषाक्त राजनीतिको विरोध गर्नेछाैँ र जनतालाई एकजुट गर्न हाम्रो काम जारी राख्नेछौँ।’

पाकिस्तानी समाचार च्यानल एआरवाई न्यूजका अनुसार केही पाकिस्तानीहरूले लण्डनमा पूर्वप्रधानमन्त्री नवाज शरीफको घरबाहिर पनि विरोध प्रदर्शन गरेका छन्।

आन्दोलनमा उत्रिएका जनताले पाकिस्तानका जनतामाथि भारतसँगको व्यापारमा प्रतिबन्ध लगाए पनि शरीफ परिवार आफ्नो व्यापारका लागि भारतसँग नजिकिँदै गएको आरोप लगाएका छन्।

असोज १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्