मनास्लु हिमपहिरो : मौसम सुधार नहुँदा उद्धार प्रयास रातभरका लागि स्थगित

काठमाडौँ – खराब मौसमका कारण मनास्लु हिमपहिरोमा फसेकाहरुको उद्धार कार्य मंगलबार बिहानसम्मका लागि रोकिएको छ ।

सोमबार मध्याहन्न तिर मनास्लु हिमालेको तेस्रो र चौथो क्याम्पको बीचमा गएको हिमपहिरोमा परेर कम्तीमा १५ जना घाइते भएका थिए ।
उद्धारको पर्खाइमै रहेका बेला एक गम्भीर घाइतेको मृत्यु भएको छ ।

दुईजनालाई हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ । गम्भीर घाइते थप दुईजना तथा मृत एकजनाको शव पहिरो गएकै स्थानमा छ ।

यस्तै अरु १० जना सामान्य घाइतेको पनि उद्धार प्रयास गरिएको भए पनि खराब मौसमका कारण नसकिएको पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण महाशाखाका निर्देशक युवराज खतिवडाले जानकारी दिएका छन् ।

बेलुका अबेरसम्म उद्धारको प्रयास गरिए पनि खराब मौसमका कारण हेलिकप्टर माथि जान सक्ने अवस्था नदेखिएपछि मंगलबार बिहानसम्मका लागि स्थगन गरिएको उनले बताए । बिहानै पुनः उद्धारको प्रयास थालिने उनले जानकारी दिएका छन् । उद्धारका लागि हेलिकप्टर सामागाउँ र बेसक्याम्पमा तयारी अवस्थामा छन् ।

उद्धार गरेर ल्याइएका दुईजनाको बुढानीलकण्ठमा रहेको करुणा अस्पतालमा उपचार भइरहेको छ । सेभेन समिट ट्रेकका सुक तामाङ र इम्याजिन नेपालका जीतबहादुर शेर्पा रहेको खतिवडाले जानकारी दिए । उनीहरुलाई तेस्रो क्याम्पबाट उद्धार गरेर सामागाउँ ल्याइ त्यहाँबाट हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको थियो ।

असोज १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्