जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको राजकीय अन्त्येष्टि

टोकियोमा भएको शिन्जो आवेको राजकीय अन्त्येष्टिमा विदेशी पाहुनासहित ४५ सय जना भन्दा बढी सहभागी भएका छन्। तस्बिर : इपिए

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको राजकीय अन्त्येष्टि मंगलबार भएको छ। राजधानी टोकियोमा आवेको अन्तिम बिदाइमा विश्वभरका नेता सामेल भएका छन्।

तीन महिना पहिले आवेको हत्या भएको थियो। जापानमा सामान्यतया राजपरिवारका सदस्यको निधन हुँदा मात्रै राजकीय अन्त्येष्टिको व्यवस्था हुने गर्छ। तर लामो समयसम्म प्रधानमन्त्री पदमा रहेको भन्दै आवेको पनि राजकीय अन्त्येष्टि दिइएको हो।

आवेलाई १९ तोपको सलामी दिइएको छ। समारोहमा करिब १०० देशका नेता सहभागी भएका छन्। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिससहितका नेताहरू आवेलाई श्रद्धाञ्जली अर्पण गर्न पुगेका हुन्।

तर, जापानमै भने राजकीय अन्त्येष्टिलाई लिएर विरोध प्रदर्शन भएको छ। हजारौँ प्रदर्शनकारीले अनावश्यक रूपमा राज्यको ढुकुटी दुरुपयोग गरेर आवेको अन्त्येष्टि गरिएको भन्दै विरोध गरेका हुन्।

आवेको अन्त्येष्टि समारोहमा एक करोड १४ लाख अमेरिकी डलर बराबरको खर्च आँकलन गरिएको छ। अरू अत्यावश्यक क्षेत्रमा खर्चिनु पर्ने रकम आवेको अन्त्येष्टिमा लगाइएको भन्दै विरोध भएको हो। आवेको गएको जुलाई ८ मा हत्या भएको थियो।

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्