नेपालगञ्जमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले मंगलबारदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ।

वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो। राष्ट्रिय बाणिज्य बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन्।

८५ वर्षीय हस्मात अलीले वडाबाटै भत्ता वितरण सुरु भएपछि आफूलाई निकै खुसी लागेको बताए। उनले बैंकमा लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति मिलेको बताए।

यस्तै, ७५ वर्षीय सन्तोखिया काँदुले वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउने भएपछि आफूजस्ता वृद्धवृद्धालाई निकै सहज भएको बताए।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यको अवलोकन गर्न वडा नम्बर २२ को कार्यालय पुगेका नगर प्रमुख प्रशान्त विष्टले जेष्ठ नागरिक र अपांगता भएकाहरुलाई बैंकमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको बताए।

उनले आफूहरुले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुरुप नागरिकको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको बताए।

उपप्रमुख कमरुद्दिन राईले जनताको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्यले नागरिकको अनुहारमा खुसी देखिँदा आफूहरुलाई सन्तोष मिलेको बताए।

राष्ट्रिय वाणिज्य बैंक नेपालगञ्ज शाखाका सहायक प्रबन्धक अनुप न्यौपानेले वडा नम्बर २२ का ३ सय ७८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने जानकारी दिए।

उनले अहिलेलाई नेपालगञ्जका १४ वटा वडामै पुगेर भत्ता वितरण गर्ने गरी नेपालगञ्ज उपमहानगरपालिकासँग सहकार्य गरिएको बताए।

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्