साबा च्याम्पियनसिपमा उपाधि दाबेदार श्रीलंकासँग भिड्दै नेपाल

फाइल तस्बिर

काठमाडाैँ- माल्दिभ्समा जारी साउथ एसियन बास्केटबल च्याम्पियनसिपमा नेपालले मंगलबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल राति ९:१५ मा सुरु हुने छ।

पहिलो खेलमा नेपाल घरेलु टोली माल्दिभ्ससँग ५१-४७ ले पराजित भएको थियो। त्यसैले नेपाल आफ्नो पहिलो जितको खोजीमा कोर्टमा उत्रिनेछ।

पहिलो खेलमा श्रीलंकाले भने भुटानलाई ९८-३३ को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो।

श्रीलंका जारी च्याम्पियनसिपमा उपाधि दाबेदार मानिएको छ। भारतले अन्तिम समयमा नाम फिर्ता लिएपछि उपाधिको लक्ष्यमा नेपाल पनि रहेको छ।

यद्यपि पहिलो खेलमा पराजित भएकाले नेपालका लागि श्रीलंकाविरुद्धको खेल चुनौतीपूर्ण मानिएको छ।

सन् २०१६ मा नेपालमा भएको प्रतियोगितामा श्रीलंका च्याम्पियन बन्दा नेपाल उपविजेता भएको थियो। उक्त खेल नेपालले ७५-४९ ले गुमाएको थियो।

दक्षिण एसियाका चार राष्ट्रमात्र सहभागी प्रतियोगितामा नेपालले अन्तिम खेलमा भुटानसँग बुधबार खेल्ने छ।

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्