सांसदले जनताले अनुभूति गर्ने गरी काम गर्न सकेनन्ः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सांसदहरु आफै गैरसंसदीय क्रियाकलापमा लाग्ने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

नेपाल कानुन समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘संघीय संसदको पाँच वर्षः एक सिंहावलोकन अनुगमन तथा परीवेक्षण प्रतिवेदन’माथिको छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेका हुन्।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सांसदहरु दलको कब्जामा रहँदा संघीय संसदले पाँच वर्षे कार्यकालमा जनताले अनुभूति गर्नेगरी कानुन निर्माणको काम गर्न नसकेको बताए।

उनले विकास, निर्माणको काममा बढी ध्यान दिनुपर्ने भएकाले पनि सांसदहरुले कानुन निर्माणको काममा ध्यान दिन नसकेकोसमेत स्पष्ट पारे। त्यस अवसरमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सांसदहरुको मूल काम कानुन निर्माण गर्ने भएकाले त्यसैमा ध्यान दिन आवश्यक रहेको बताए।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रअनुसार मुलुकमा रुपान्तरण भएन। जनताले अनुभूति गर्न सक्ने लेवलको काम पनि संसदबाट भएन। त्यसैले यो परिवर्तनको अनुभूति गर्ने विन्दुमा जसरी ऐनहरु आउनु पर्थ्यो, त्यसरी भएन। र, विकासमा सांसदहरुको रुचि हुनुपर्ने बाध्यता छ। त्यो बाध्यतालाई बुझ्न सकिन्छ। तर, त्यो बाध्यतालाई हामीले संसदलाई गैरसंसदीय क्रियाकलापमा त लग्दैनौँ? हामीले सांसदहरुलाई गैरसंसदीय बनाइराखेका छैनौँ ? मलाई यो डर छ। उहाँहरु विधायक हुनुहुन्छ। र, विधायन उहाँहरुको मूल धर्म हो। विधायनलाई गौण राख्न सांसदहरुले मिल्दैन। दलको हामीमुहाली देख्दा बहुदलवादी बढी र संसदीय कम देखियो। सांसदहरु जो दलको कब्जामा हुनुहुन्छ। उहाँहरुले आफ्नो भनाइ स्वतन्त्र ढंगले राख्न नपाउने जुन अवस्था छ। त्यो परिस्थितिले संसदीय भूमिकालाई कहीँ न कहीँ अवरोध गरिरहेकै छ।’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संसदलाई गैरसंसदीय प्रक्रियामा लैजाने काम नगर्न पनि राजनीतिक दलहरुलाई आग्रह गरे।

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्