चप्पलमा खुकुरी चिन्ह प्रयोग गरेको प्रति आपत्ति

सांकेतिक तस्बिर।

काठमाडौँ – चप्पलमा नेपालीको पहिचान झल्काउने खुकुरी चिन्ह प्रयोग गरिएको भन्दै पूर्व सुरक्षाकर्मी परिषद नेपालले विरोध जनाएको छ।

म्याजिक कम्पनिले उत्पादन गरेको चप्पलमा नेपालको राष्ट्रिय हतियार खुकुरीेलाई अपमानजनक ढंगले प्रयोग गरिएको प्रति आपत्ति जनाउँदै परिषदले त्यस्तो नगर्न माग गरेको हो। म्याजिक एक जोर चप्पलमा दुवैतिर गरी पैतालाले टेक्ने भागमा ८ स्थान र तुनामा २ स्थानमा छापेको छ।

परिषदले भनेको छ, ‘जुत्तामा नेपालको राष्ट्रिय झण्डा छाप्ने, कहिले भगवान बुद्धको तस्विर चप्पलमा छाप्ने, कुनै बेला नेपाल राष्ट्र एकीकरण तथा विदेशीसंग लड़ाई हुँदा हाम्रा वीर पूर्खाहरुले प्रयोग गरेको ऐतिहासिक हतियारहरु विदेशीलाई विक्री गर्ने जस्ता कामहरु हुँदै आएको छ।’

परिषदले खुकुरी चिन्ह प्रयोग नगर्न आग्रह गर्दै अगाडि भनेको छ, ‘नेपालको राष्ट्रिय पहिचानको हतियारलाई खुट्टामा प्रयोग गर्नेगरी बजारमा निकालिएकोप्रति यस पूर्व सुरक्षाकर्मी परिषद घोर निन्दा गर्दछ । यस प्रकारको हर्कतलाई नेपाल सरकारले समयमानै आवश्यक अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिन तथा बजारमा उपलब्ध चप्पलहरु यथासिघ्र कब्जामा लिई नष्ट गर्न र दोषीउपर राष्ट्रिय चिन्हको दुरुपयोगमा कानून बमोजिम कारवाही गर्न समेत यस परिषद् सरकारसँग जोडदार माग गर्दछ।’

सुरक्षाकर्मी परिषद् नेपाल अवकाश प्राप्त पूर्व सुरक्षाकर्मीहरुको संस्था हो।

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्