लुम्बिनीका विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षण गरिने

बुटवल – लुम्बिनी विकास कोषले असोज १५ गतेदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षण गर्ने भएको छ।

मंगलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभए पनि दशैंको उपलक्ष्यमा ५ दिन चार्जिंङ स्टेशन र गाडीहरुको मेशिनरी परीक्षण स्वरुप अफिसियल यान्त्रिक परीक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने निणर्य गरेको हो।

असोज १५ देखि ५ दिनसम्म अफिसियल परीक्षणसमेत हुने गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने निणर्य गरिएको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिए।

सचिवालय बैठकले जिल्ला प्रशासन कार्यलय रुपन्देहीको सहयोग लिने निणर्य गरेको छ। बस सञ्चालनका लागि कोषका बोर्ड सदस्य विश्वराज पौडेलको संयोजकत्वमा जावेद अख्तर र धर्मेन्द्र पाल सदस्य रहेको संयोजन समिति गठन गरेको छ। कोषले यसअघि लुम्बिनीमा रहेका विद्युतीय गाडी सञ्चालनका लागि कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलले कोषका अध्यक्ष तथा नागरिक उडडयन तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई भदौ १२ गते प्रतिवेदन बुझाइएको थियो। कोषको भदौ २३ गते बसेको कार्यकारिणी बैठकले कार्यविधिलाई अर्को बैठकले पास गर्ने निणर्य गरेको कोषाध्यक्ष भट्टराईद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ। कोषले दशैंमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको थियो।

घटस्थापनाको समय गुज्रेपछि आलोचना बढ्नु स्वभाविक भएको बताउँदै पर्यटन मन्त्रालयले कोषलाई पत्रद्वारा हस्तान्तरण गरे पनि यात्रु बोक्न सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा गाडीको नामसारी नहुँदा ढिलाइ भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘हामीले एक महिना अघिदेखि प्रदेश पर्यटन र यातायात कार्यलयमा नम्बर प्लेट परिवर्तनमा निवेदन पेश गरेका थियौँ, पर्यटन दिवसकै दिन प्रदेश पर्यटन मन्त्रालयले हरियो प्लेटका लागि सहमति प्रदान गरेको छ,’ कोषाध्यक्ष भट्टराईले सचिवालय बैठकपछि जारी विज्ञप्तिमा भनेका छन्,‘यातायात कार्यालयबाट नामसारी भएपछि आवश्यक रुट अनुमति लिएर विद्युतीय बस सञ्चालन गरिनेछ।’

बस तथा भ्यानको तेश्रो पक्षको बीमा गरेपछि अफिसियल परीक्षण र परीक्षण सञ्चालन गरिने कोषले जनाएको छ।

प्रधानमन्त्री कार्यालय, गृहमन्त्री बालकृष्ण खाण, प्रदेश पर्यटन मन्त्रालयका मन्त्री डिल्ली बहादुर चौधरीको चासोलाई कोषले सकरात्मक रुपमा लिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्