बुटवलको आम्दा अस्पताल ३ सय बेडमा स्तरोन्नति गरिने

बुटवल – बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तरोन्नति हुने भएको छ। बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सहमतिमा सञ्चालनमा रहेको अस्पतालमा २०० बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो।

एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एसिया (आम्दा) इन्टरनेसनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्न निणर्य गरेको हो।

२०५३ सालमा बुटवल उपमहानगरपालिका–७ मा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको थियो। पचास शय्याबाट सुरु भएको अस्पतालमा हाल १०० शय्या सञ्चालनमा छन्।

अस्पतालका अध्यक्षसमेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई ३०० बेडको बनाउने र विशिष्टीकृत सेवा प्रवाह गर्ने निणर्य गरेको बताए।

अस्पतालको स्तरोन्नतिका लागि बुटवल उपमहानगरपालिका, आम्दा र बुटवल उद्योग वाणिज्य संघले पहल गर्ने गरी समझदारी भएको उनले बताए। उनले महिला र बालबालिकाको स्वास्थ्य उपचारमा सबै खालका सुविधासहितको अस्पतालका रूपमा स्तरोन्नति गर्ने जानकारी दिए।

समझदारीका क्रममा आम्दा इन्टरनेसनलका अध्यक्ष डा. सिगेरू सुगानामीले आम्दाले बुटवलमा अस्पताल स्तरोन्नति गर्नका लागि आवश्यक सहकार्य गर्ने बताए। उनले अस्पतालमा बेड थप गर्ने मात्रै नभइ अन्य सुविधा थप गर्ने गरी त्रिपक्षीय सहकार्य हुने बताए।

आम्दा नेपालका अध्यक्ष डा. अनिलकुमार दासले आम्दाले बुटवलको अस्पताललाई स्तरोन्नति गर्नका लागि आवश्यक सहकार्य गर्ने र स्रोत तय गर्नका लागि भूमिका निर्वाह गर्ने बताए।

अस्पतालको अर्को साझेदार संस्था बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले अस्पताल स्तरोन्नति गर्न आवश्यक रहेको र संघले पर्याप्त भूमिका निर्वाह गर्ने बताए।

अस्पतालको स्तरोन्नति भएपछि बुटवल क्षेत्रमा एउटा विशिष्टीकृत सेवा भएको स्तरीय अस्पताल हुने उनले बताए।

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्