गाईघाट फुटबल क्लब खुदुनाबारी गोल्डकपको अन्तिम चारमा

झापा – उदयपुरको गाईघाट फुटबल क्लब प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिता तेस्रो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

अर्जुनधारा–३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा भएको गोल्डकपको तेस्रो खेलमा आज (मंगलबार) ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै उदयपुर गोल्डकपको अन्तिम चारमा पर्न सफल भएको हो।

६० मिनेटको निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा गाईघाट फुटबल क्लब उदयपुरकी साहारा दाहाल, युनिका राई र मनिता तामाङले प्रहार गरेको गोल ताप्लेजुङकी गोलरक्षक एलिजा लिम्बुले बचाउन नसक्दा ताप्लेजुङले पराजय भोग्यो।

टाइब्रेकरमा ताप्लेजुङका लागि एक मात्रै गोल अनुषा लिम्बुले गरिन्।

खेलको ६० औँ मिनेटमा उदयपुरकी अस्मिता राईले पहेंलो कार्ड पाएकी थिइन्।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने उदयपुरकी मनिता तामाङ वुमन अफ दी म्याच घोषित भइन्। उनले ट्रफीसहित नगद १ हजार रुपैयाँ हात पारिन्।

गोल्डकपको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा बुधबार धनकुटा महिला फुटबल क्लब र सुनसरी जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुने छ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपौयाँसहित ट्रफी पाउने छ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी पाउने छ।

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्