केराबारीमा इलाका प्रहरी कार्यालयको भवन उद्घाटन

‍मोरङ – मोरङको केराबारी गाउँपालिकामा २ करोड २९ लाख रुपैयाँको लागतमा इलाका प्रहरी कार्यालय भवन निर्माण भएको छ।

मंगलबार प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले नवनिर्मित भवनको एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्।

प्रहरी कार्यालयको उद्घाटन गर्दै मन्त्री कार्कीले शान्ति सुरक्षाको लागि खटिने प्रहरी सुरक्षित हुँदा नागरिक पनि सुरक्षित रहने बताएका थिए।

नागरिकको सुरक्षाका लागि खटिएका प्रहरीको बसोबासलाई समेत व्यवस्थित र सुरक्षित बनाउन प्रदेश सरकार तयार रहँदै आएको मन्त्री कार्कीले बताए।

कार्यक्रममा प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदिप गिरीले प्रहरीलाई भौतिक संरचना सुविधासम्पन्न निर्माण गरिदिँदा कार्यक्षमता पनि बढ्ने बताए। गिरीले कार्यस्थल सुविधा सम्पन्न हुँदा नागरिकको सुरक्षामा खटिएका प्रहरी पनि उच्च मनोवलसहित काममा खटिने बताए।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सुरक्षाका लागि खटिने प्रहरीका लागि भौतिक संरचना निर्माण हुनु सुखद् भएको बताए। प्रदेश सरकारले शान्ति सुरक्षामा खटिएको प्रहरीका लागि भवन निर्माण गरेर प्रदेश सरकारले महत्वपूर्ण काम गरेको उनको भनाइ छ।

इलाका प्रहरी कार्यालय भवन निर्माणका लागि प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट २ करोड २९ लाख १३ हजार रुपैयाँ उपलब्ध भएको हो। सो क्रममा नवनिर्मित भवन साढे दुई तल्ले रहेको छ।

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्