विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना

मोरङ – पर्यटन प्रवर्द्धन र प्रदेश–१ घुम्न आउने पर्यटकलाई जानकारी दिने उद्देश्यसहित विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष एवं मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले मंगलबार केन्द्रको उद्घाटन गरे। महासंघको सचिवालयमा स्थापना गरिएको केन्द्रको उद्घाटन गर्दै उपाध्यक्ष राउतले प्रदेश १ का विभिन्न आकर्षक स्थान घुम्न आउने पयर्टकलाई सहयोग पुग्ने हेतुसहित केन्द्रको स्थापना गरिएको जानकारी दिए।

प्रदेशका मुख्य तीन नाका विराटनगर, काँकडभिट्टा र पशुपतिनगरबाट घुम्न आउने पर्यटकलाई गन्तव्यको बारेमा पूर्ण जानकारी, होटल व्यवस्थापन, पर्यटकको जानकारी राख्ने गरी केन्द्रले काम गर्ने उनले बताए।

इलामको पशुपतिनगर, झापाको विर्तामोडमा सूचना केन्द्रले काम गर्दै आएको बताएका राउतले विराटनगरको रानीमा पर्यटन डेस्कको अभाव रहेको उल्लेख गरे। उनले डेस्क स्थापना नहुञ्जेल पयर्टन प्रवर्द्धन गर्ने कार्य केन्द्रले गर्दै जाने उपाध्यक्ष राउतले जानकारी दिए।

प्रदेश १ मा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको बताएका राउतले हाल रहेका १६ वटा आन्तरिक विमानस्थल संचालन गर्न संघीय सरकारले पहल गर्नुपर्नेमा जोड दिए।

पर्यटन दिवसका अवसरमा केन्द्रको स्थापना गरिएको जानकारी दिँदै महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले विराटनगर विमानस्थलमा पनि अध्यागमनको व्यवस्था गर्नुपर्नेमा जोड दिए।

बोहोराले पर्यटन क्षेत्रलाई राज्यले ठूलो आर्थिक स्रोतका रुपमा उपयोग गर्न नसकेको उल्लेख गरे। महासंघका पर्यटन समिति संयोजक भविषकुमार श्रेष्ठले प्रदेशका सबै १४ वटा जिल्लाका पर्यटकीय स्थलको जानकारी, पर्यटन क्षेत्रमा काम गर्ने संघ संस्था, होटल, टुर ट्राभल्सबारे जानकारी दिने गरी सूचना केन्द्रको स्थापना गरिएको जानकारी दिए।

संयोजक श्रेष्ठले सूचना केन्द्रमा पर्यटन क्षेत्र, पर्यटकलाई बुझ्नसक्ने दक्ष जनशक्तिको व्यवस्था गर्न प्रदेश सरकारमार्फत केन्द्र सरकार पर्यटन तथा संस्कृति मन्त्रालयलाई आग्रह गरिएको जानकारी दिए।

कार्यक्रममा महासंघका प्रदेश समिति सदस्य रविन दाहालले सूचना केन्द्रको स्थापनासँगै प्रदेशका पयर्टकीय क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास लिए। उनले प्रदेश १ मा रहेका धार्मिक, साहासिक पर्यटन, पवर्तारोहण घुमघामका लागि आकर्षक स्थलबारे जानकारी दिने र धेरैभन्दा धेरै पर्यटक भित्र्याउनेमा केन्द्रको महत्वपूर्ण योगदान रहने बताए।

केन्द्रको स्थापनाले प्रदेशको पर्यटन प्रवर्द्धन र विकासमा थप सहयोग पुग्ने उल्लेख गरेका थिए। प्रदेशमा धार्मिक र साहासिक पर्यटनको विकास संभावना रहेको हुँदा सम्बन्धित निकायले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।

असोज ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्