सल्यान दुर्घटना अपडेट: मृत्यु भएका आठै जनाकाे पहिचान खुल्याे

दाङ – सल्यानमा बुधबार बिहान भएको जीप दुर्घटनामा परी मृत्यु भएका आठ जनाको पहिचान खुलेकाे छ ।

बाँकेको ढकेरी बाट सल्यानको कपुरकोट सिनवांगको लागि छुटेको रा १ ज ५६३ नम्वरको जीप आज बिहान करिब ३:३० बजे दुर्घटनामा भएकाे थियाे ।

दुर्घटनामा परी जीप चालक कपुरकोट-६ जलवांगका २१ वर्षीय जितबहादुर बोहरा, सोही ठाउँका ३७ वर्षीय धर्मा वली, ४० वर्षीय टोपबहादुर वली, उनकाे छोरा ११ वर्षीय वसन्त वली, सोही ठाउँका ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र कपुरकोट ५ रिमका ३५ वर्षीय ललित वली रहेका छन् ।

उनीहरूकाे शवलाई पोष्टमार्टमको लागि सल्यान अस्पताल लगिँदै छ । घाइते कपुरकोट- ६ जलवांगका ३५ वर्षीय तिलक वलीको तुलसिपुरमा उपचार भैरहेको छ ।

बाँकेको ढकेरीबाट बिहे भोज खाएर फर्कँदै गरेकाे गाडि दुर्घटनामा परेको हो । अहिले घटनास्थलमा प्रहरी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको टोली खटिएको प्रहरीले जनाएको छ ।

जीपमा ८ पुरुष र १ महिला गरी ९ जना सवार रहेको प्रहरीले जनाएको छ । जीप अनियन्त्रित भएर सडकबाट १ सय ५० मिटर तल खसेको थियो ।

असोज १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्