वडाध्यक्षकाे बारीबाट ९४ थान अवैध चिरान काठ बरामद

दाङ- देउखुरी डिभिजन वन कार्यालय, लमहीले राप्ती गाउँपालिका- ९ बाट अवैध सालकाे चिरान काठ बरामद गरेको छ।

गोप्य स‍ूचनाका आधारमा प्रहरी र वन अधिकारीको संयुक्त गस्ती टोलीले ९४ थान चिरान घप्पु बरामद गरेको देउखुरी डिभिजन वन कार्यालय, लमहीका सूचना अधिकारी छोटेलाल चौधरीले जानकारी दिए।

राप्ती गाउँपालिका- ९ का वडाध्यक्ष रिमबहादुर सुनारी मगरको बारीबाट ७७ थान चिरान घप्पु र दुर्योधन घर्तीको घर नजिकै चट्टा राखेको अवस्थामा २७ थान घप्पु बरामद गरिएको डिभिजन वन कार्यालय, लमहीले जानकारी दिएको छ।

‘वडाअध्यक्ष सुनारी मगरको बारिमा राष्ट्रिय वनबाट अवैध रूपमा सालको काठ काटी राखेको भन्ने हामीले सूचना पायौँ। सूचनाकै आधारमा हाम्रो टोलीले ती काठ बरामद गरेको हो। अनुसन्धान जारी छ’, देउखुरी डिभिजन वन कार्यालय लमहीका डिभिजनल प्रमुख राजु क्षेत्रीले भने।

सबै काठ बरामद गरेर सब डिभिजन वन कार्यालय गढवामा राखेको छ। बरामद काठको बारेमा थप अनुसन्धान भैरहेको प्रमुख क्षेत्रीले जानकारी दिए।

त्यस्तै, गढवा गाउँपालिकाको गोबरडिहाबाट केही थान घप्पुसहित एक जनालाई पक्राउ परेका छन्।

असोज १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्