कांग्रेसले आफ्नाे इतिहास हेराेस्, कांग्रेसमा कति विचलन आएकाे छ : मिश्र

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वर्षौँदेखि देशमा रहेको गलत राजनीतिक गतिविधिको सुधार गर्नुपर्ने बताएका छन्।

राप्रपा र मिश्र समूहको एकता घोषणा कार्यक्रममा उनले देशको बेथितिमाथि राप्रपाले उठाइरहेको एजेण्डाको प्रशंसा गर्दै अब सोही एजेण्डामा अझ मजबुत शैलीमा अघि बढ्ने बताए।

नेपाली-नेपालीबीच हुने झगडा सामान्य हुने तर राजदरबार भत्काएर दिल्लीलाई केन्द्र बनाउने शैली गलत भएको मिश्रकाे भनाइ छ।

उनले भने, ‘हामी आफू-आफू झगडा गरौँ, राजा पनि नेपाली नागरिक नै हुन्। उनीसँग पनि झगडा गर्न सकियो। तर, यहाँको राजदरबार भत्काएर नयाँ दिल्लीलाई दरबार मान्नु भएन।’

कार्यक्रममा उनले तीन वर्षअघि आफूले नेपाल विश्वको भूराजनीतिको केन्द्र बनेको बुझेको पनि बताए।

उनले भने, ‘अमेरिकी कुटनीतिज्ञहरू नेपाल आइरहेका छन्, चीनका ठूला नेता आएका छन्। भारतको प्राथमिकतामा नेपाल सधैँ उच्च छ। यसले के देखाउँछ भने नेपाल विश्वशक्तिको केन्द्र बनिरहेको छ। तर, हामी आफैँ चाहिँ भष्ट्र सरकार लिएर बसिरहेका छौँ। जहाँ सरकारका कुनै पनि अंगले आफ्ना काम गरिरहेका छन्।’

त्यही कारण नेपालमा भूराजनीतिक जटिलताहरू आइरहेको उनकाे भनाइ छ।

मिश्रले आफूलाई कांग्रेसका केही नेताहरूले आफूमा विचलन आएको आरोप लगाउने गरेको पनि बताए।

उनले भने, ‘कांग्रेसले आफ्नो इतिहास हेरोस्। कांग्रेसमा कति विचलन आएको छ। यसको जवाफ कांग्रेसका साथीहरूले नै दिऊन्।’

उनले धर्मनिरपेक्षताले नेपाली समाज विकृत बनेको पनि बताए।

असोज १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्