एन्फा कार्यसमितिले पायो तीन महिनापछि पूर्णता

फाइल तस्बिर

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिले पूर्णता पाएको छ। एन्फाको २१ सदस्यीय कार्यसमितिमा दुई जना सदस्यको नियुक्ति बाँकी रहेको थियो।

गत ६ असारमा भएको निर्वाचनमा चार जना सदस्यका उम्मेदवारको समान ३९–३९ मत आएका कारण दुई जना सदस्यको टुंगो लागेको थिएन। बुधबार साधारण सभामा मतदानमार्फत रूपेश अधिकारी र दीपेन्द्र धिमाल चुनिएका हुन्।

अधिकारी र धिमालले क्रमशः ५४ र ४७ मत प्राप्त गर्दा पराजित भएका लोकेन्द्र गुरुङले ४५ तथा दीपक थापाले ७ मत प्राप्त गरेका थिए। योसँगै एन्फाको कार्यसमितिले पूर्णता पाएको छ।

गत ६ असारमा भएको साधारण सभामा अध्यक्षमा पंकज विक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीर बहादुर खड्का, उपाध्यक्षमा दावा लामा, दीपक खतिवडा, विराटजंग शाही र दीर्घबहादुर (कुमार) केसी विजयी भएका थिए।

त्यस्तै, सदस्यमा रवीन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विजय नारायण श्रेष्ठ, रमेश व्यञ्जनकार, भरत बुढथापा, टिका लामा, मणिराज विष्ट, मनिष जोशी तथा महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ निर्वाचित भएका थिए।

असोज १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्