खाद्यले सुरु गर्‍यो खसी–बोका र च्याङ्ग्रा बिक्री

फाइल फोटो।

काठमाडौँ – सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बुधबारदेखि खसी–बोका बिक्री सुरु गरेको छ।

कम्पनीले यस वर्ष खसी–बोका र च्याङ्ग्रा गरी २५ सय गोटा बिक्री गर्ने लक्ष्य लिइएको जनाएको छ। कम्पनीले खसी र बोकाको मूल्य प्रतिकेजी ६ सय ७० रुपैयाँ तोकेको छ भने च्याङ्ग्राको मूल्य प्रतिकेजी १ हजार २ सय ५० तोकेको छ।

कम्पनीका प्रादेशिक प्रमुख ज्ञानु थापाले खसी, बोका बजारभन्दा सस्तोमा बिक्री वितरण भइसकेको जानकारी दिए। उनले खसी, बोकाको अभाव हुन नदिने र उपभोक्ताको मागअनुसार थप भित्र्याइने बताए।

कम्पनीले बिहान ७ बजेबाट अपराह्न ५ बजेसम्म खसी, बोका बिक्री वितरणको व्यवस्था मिलाएको उनले बताए। कम्पनीबाट बिक्री हुने खसी–बोकाको स्वास्थ जाँच गरिएको उनको भनाइ छ।

नेपालमा वर्षमा १ करोड २८ लाख १२ हजार हाराहारीमा खसी–बोका र बाख्रा उत्पादन हुनेगरेको पशु सेवा विभागले जनाएको छ। जसमा ४५ लाख खसी–बोका मासुका लागि योग्य हुने विभागको भनाइ छ।

काठमाडौँमा मात्रै करिब १ हजार २ सयको हाराहारीमा खसी–बोका दैनिकजसो काट्ने गरिन्छ।

असोज १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्