उपेन्द्र यादवको स्वेच्छाचारी गतिविधिका कारण पार्टी परित्याग गरेँः कार्की

मोरङ – जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य युवराज कार्कीले अध्यक्ष उपेन्द्र यादवको स्वेच्छाचारी गतिविधिका कारण पार्टी परित्याग गरेको बताएका छन्।

विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै सदस्य कार्कीले अध्यक्ष यादवको गतिविधिका कारण पार्टीबाट अलग हुने घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनका क्रममा कार्कीले पार्टी अध्यक्ष यादवले पार्टीलाई एकलढंगबाट चलाएको, फितलो राष्ट्रवाद र खस आर्यप्रति पूर्वाग्रह राख्दै आन्दोलनलाई धोका दिएको आरोप लगाए।

खस समावेशी राष्ट्रिय पार्टीका अध्यक्षसमेत रहेका कार्की १० वर्षअघि यादवको पार्टीमा एकीकृत भएका थिए।

पत्रकार सम्मेलनमा कार्कीले जसपा परित्याग गरे पनि अब राष्ट्रिय हितको अभियानलाई आत्मसात् गर्दै नयाँ पार्टी गठन गरी अघि बढ्ने जानकारी दिए।

आगामी निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस कार्की गठबन्धनअनुरूप सो क्षेत्र कांग्रेसतर्फ पर्ने लगभग निश्चित भएपछि अलग भएका हुन्।

उनले खस, मधेसी र आदिवासीका विभिन्न मुद्दालाई उठान गर्दै पहिचानवादी नयाँ पार्टी अघि सार्ने घोषणासमेत गरे।

असोज १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्